जनता टाइम्स

९ भाद्र २०७८, बुधबार ०९:२९

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको स्कूलले ओगट्यो त्रिविको ११३ रोपनी जग्गा, छाड्न आग्रह गर्दा दियो धम्की


काठमाडौं, भदौ ९। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसम्बद्ध लेबोरेटोरी माध्यमिक आवासीय विद्यालयले पनि त्रिविको एक सय १३ रोपनी जग्गा आगटेको छ । यो स्कुल श्रेष्ठ संस्थापक रहेको लिटिल एन्जल्स सिस्टम अर्थात् गुठीका रुपमा चलेको छ । सुरुमा स्कुलको वेबसाइटमा श्रेष्ठसहित एड्भाइजरी बोर्डका सदस्यहरुको नाम नै राखिएको थियो । पछि विवाद भएपछि बोर्ड सदस्यको सूची हटाइयो ।

सुरुमा त्रिवि शिक्षा संकायका विद्यार्थीको शिक्षण अभ्यासको उद्देश्यले स्कुल स्थापना गरिएको थियो । १३ साउन ०५७ मा शिक्षा मन्त्रालय र गैरसरकारी संस्था शिक्षा समाजबीच १५ वर्षे सम्झौता भएअनुसार त्रिविले जग्गा उपलब्ध गराएको थियो । तर ०७२ साउन १२ गते सम्झौता सकिएको छ । त्रिविले जग्गा खाली गर्न पटक पटक ताकेता गर्दा पनि स्कुल व्यवस्थापनले छाड्न मानेको छैन ।

उल्टै, एक वर्षअघि जग्गा फिर्ता विषयमा छलफल गर्न गएमा त्रिविका कर्मचारीमाथि नै आक्रमण भएको थियो ।