जनता टाइम्स

१० भाद्र २०७८, बिहीबार १३:४८

नेपाल बैंकले ७ करोडको जग्गा बिक्रि गर्दै, कहाँ कति जग्गा ?


काठमाडौं, भदौ १० । नेपाल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको विभिन्न ५ स्थानका जग्गा, भवन लगायत गैरबैंकिङ सम्पत्ति लिलाम गर्ने भएको छ । बैंकले यी सम्पति लिलाम गर्नको लागि २१ दिने सूचना सार्वजनिक गरेको छ । बैंकले सो घरजग्गा खरिद गर्न इच्छुक फर्म वा व्यक्तिबाट आफूले के–कति मूल्य तिरी लिने हो मूल्य खोली सम्बन्धित शाखाहरू वा बैंकको प्रधान कार्यालय, कर्जा असुली विभागबाट उपलब्ध गराएको फारम भरि सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र उक्त दिन बिदा परेमा सोको भोलिपल्ट वा लगत्तै अफिस खुलेको दिन बैंकिङ समयमा सिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको हो ।

बैंकले काठमाडौँ जिल्ला, साबिक गोंगबु गाविस वडा–७ को ९८.०६ (व.मी), काठमाडौँ जिल्ला, साबिक वाणभञ्ज्याङ–६ (क) को १ रोपनी, मोरङ जिल्ला, साबिक विराटनगर उपमहानगरपालिका–७ को ४३२८.७५ (व.मी.), मोरङ जिल्ला, इनरुवा नगरपालिका–७ को १६९.२९, २२८.५८, १६९.३२, १०६६.७१, र ३३८.५८ (व.मी), र सप्तरी जिल्ला, चनौरा पडरिया–६ को १६०.८५ र १६९.३२ (व.मी) जग्गा लिलाम गर्न लागेको हो ।

बैंकले काठमाडौंको गोंगबु तथा बाँडभञ्ज्याङ, मोरङको विराटनगर, मोरंग कै इनरुवा र सप्तरीको राजविराजमा रहेका जग्गा तथा भवनहरु बिक्री गर्न लागेको हो । घर जग्गा तथा सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत लिलाम हुने बैंकले जनाएको छ। बैंकले यी सबै स्थानको जग्गाको कुल न्युनतम मूल्य ७ करोड १५ लाख ९२ हजार ९ सय ३१ रुपैयाँ कायम गरेको छ। सो मूल्यमा नघट्ने गरी गोग्य शिलबन्दी पेश गर्न बैंकले आग्रह गरेको छ ।