काठमाडौं, भदौ १० । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्दा केही नेताहरुले धोका दिएको आरोप लगाउनु भएको छ । २०७७ सालदेखि नै पार्टीमा विद्रोह गरेपनि निर्णायक बेलामा आफूसँग रहेका केही नेताहरु थाकेका कारण धोका दिएको नेपालको आरोप छ ।
अध्यक्ष नेपालले यो आरोप उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपसमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहोरामाथि लगाउनु भएको हो । माधवको साथमा रहनुभएका यी १० प्रभावशाली नेताहरुले पार्टी बिभाजनमा सहमत नहुने भन्दै माधवलाई बाइवाई गरेर एमालेमै रहने निर्णय गर्नुभएको थियो । अध्यक्ष नेपालले यही कुरालाई धोका दिएको बताउनु भयो ।
‘केपी ओलीले प्रशंशा गर्नेलाई मात्रै च्याप्नु भयो । पार्टी सिथिल भयो । सिथिल मात्रै होइन मृत प्राय भयो, यो देखेपछि हामीले विद्रोहको विगुल फुक्ने काम गर्यौ । लामो यात्रामा जाँदा कोही बिचैमा थाक्दा रहेछन,’ निर्वाचन आयोगबाट पार्टी दर्ताको प्रमाणपत्र लिएपछि आज पहिलो पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले भन्नुभयो, एमाले मृत भयो, विद्रोह गरौँ भन्नेहरुले धोका दिए ।
नेपालले पार्टीका विद्रोेही नेता कार्यकर्ताकै साथ सहयोगले अगाडि बढेको पनि बताउनु भयो । ‘थाक्ने, आँट घट्ने घटिरहन्छन् । अगाडि बढ्नेहरु लक्ष्य हाँसिल गर्न खोज्ने, देशलाई अघि बढाउन खोज्नेहरु अघि बढिरहन्छन्,’ नेपालले भन्नुभयो, ‘हामीले २०७७ चैतमा विद्रोहको विगुल फुकेका थियौँ । देशभरका कार्यकर्ताको भावनाको कदर गर्नतर्फ लाग्यौँ ।’













प्रतिक्रिया दिनुहोस्