जनता टाइम्स

१० भाद्र २०७८, बिहीबार २१:११

भीम रावलले माधव नेपाललाई फर्काए कडा जवाफ


काठमाडौँ, १० भदौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नवगठित एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालमाथि कटाक्ष गर्नुभएको छ । केही दिन अघिसम्म घनिष्ट सम्बन्ध रहेका माधव नेपाल र भीम रावलबीच आरोप प्रत्यारोप सुरु भएको हो ।

एमालेमा अध्यक्ष केपी शर्मा ओलीविरुद्धको लडाइँ अरुभन्दा चर्का देखिने रावल नेपाललाई छाडेसँगै उहाँविरुद्ध आक्रामक बन्नुभएको छ । बिहीबार नेपालले एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि गर्न आयोजित पत्रकार सम्मेलनमा एमाले दक्षिणपन्थी भएको बताउनुभएको थियो। त्यसको जवाफमा तुरुन्तै रावलले सामाजिक सञ्जालमार्फत कडा प्रतिवाद गर्नुभएको छ ।

उहाँले कांग्रेससँग मिलेर पद लिन खोज्नेले एमालेलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो भएको टिप्पणी गर्नुभएको छ । एमालेकै महासचिव, अध्यक्ष र प्रधानमन्त्री भएर अहिले पार्टी काम नलाग्ने भन्नु आश्चर्य जनक भएको रावलको भनाइ छ।

उहाँले ट्वीटरमा भन्नुभएको छ , ‘दक्षिणपन्थी पूँजीवादी नेकासँग सहकार्य गरी पदमा जान खोज्नेहरूले नेकपा (एमाले)लाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरूलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा हो। अझ यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक हो।’नेपाललाई साथ दिँदै आएका दोस्रा पुस्ताका नेताहरुले १० बुँदे सहमतिका आधारमा अघि बढ्ने भन्दै नयाँ पार्टी निर्माणमा उहाँको साथ छाड्दै ओलीसँग मिल्न गएका छन्।