काठमाडौं, भदौ ११ । सुशासन र पारदर्शिताको गफ दिएर नथाक्ने पात्र हुनुहुन्छ माओवादी नेता एवं अहिलेका अर्थमन्त्री जनार्दन शर्मा । प्रचारबाजीमा रमाउने उहाको स्वभाव । नयाँ सरकारको अर्थमन्त्री भएर आएपछि कोरोना नियन्त्रणमा ५ अर्ब छुट्याउने निर्णय गरेर शर्मा चर्चामा आउनुभयो । तर उहाँ भन्दा अगाडिका विष्णु पौडेलले ७ अर्ब छुट्याउनु भएको थियो । २ अर्ब घटाएर जनार्दनले कोभिड नियन्त्रण बजेट ५ अर्बमा झार्नुभयो । तर बाहिर प्रचार भने सरकारले कोभिडमा केन्द्रीत भयो ठूलो बजेट छुट्यायो भन्ने हिसाबले पर्यो ।
वास्तवमा ठूलो बजेटलाई शर्माले घटाउनुभएको हो । यसरी जबरजस्त प्रचारबाजी गर्न सिपालु, मिठो भाषणकला र पब्लिक इम्प्रेसन तान्न सफल शर्मा नै एकपछि अर्को विवादित निर्णय गर्दै हिँड्नुभएको छ ।
शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको फाइदा उठाउँदै जनार्दनले परिवारवाद लाद्नेदेखि भ्रष्टाचार तथा अनियमिततामा मुछिएका मान्छेलाई विभिन्न नियुक्ति दिएर सुशासनको धज्जी उडाउनुभएको छ । जनार्दनले अर्थमन्त्रीमा आएलगत्तै सुरुमा पूर्वप्रधानमन्त्री पुष्पमकमल दाहाल ‘प्रचण्ड’का सल्लाहकार रहेका प्राडा श्रीराम पौडेलका ज्वाई मधुकुमार मरासिनीलाई अर्थ मन्त्रालयको सचिवमा नियुक्त गर्नुभयो । त्यसपछि उहाँले मासिक १८ लाख तलव सुविधा भएको एशियाली विकास बैंकको सल्लाहकारमा उपसचिवलाई हटाएर शाखा अधिकृत आफ्ना भान्जीज्वाईँ भीमकान्त न्यौपानेलाई पठाउने निर्णय गराउनुभयो ।
अहिले आएर जनार्दनले एनसेलको ७२ अर्ब रुपैयाँ पूँजीगत लाभकर छली प्रकरणमा मुछिएका शोभाकान्त पौडेललाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाउनुभएको छ । पौडेलकै योजनामा एनसेल लाभकरबाट उम्केको बताइन्छ ।एनसेल उम्काउन पौडेलले आर्थिक लाभ लिएको खबरहरु बाहिर आइसकेको छ । तत्कालीन महानिर्देशक चुडामणि शर्मा र पौडेलको समन्वयमा एनसेलबाट नेपाललाई प्राप्त हुने ७२ अर्ब रुपैयाँ पूँजीगत लाभकर छली भएको भनेर अदालतमा मुद्दा समेत परेको थियो । यसमा फैसलासमेत भइसकेको छ ।
त्यसैगरी ३३ किलो सुन काण्डमा मुछिएका नारायण सापकोटालाई भन्सार विभागको महानिर्देशक नियुक्त गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका तत्कालीन प्रमुख सापकोटाकै पालामा ३३ किलो ५७७.४० ग्राम सुन तस्करी भएको थियो । जसको छानविनमा प्रहरीका एसएसपीदेखि व्यापारी र भन्सारका अधिकृतसम्म तानिएका थिए ।













प्रतिक्रिया दिनुहोस्