जनता टाइम्स

११ भाद्र २०७८, शुक्रबार ०९:५७

ढुंगानाको भाई–बुहारीको नाममा पनि सर्वोत्तमको शेयर रहेको खुलासा


काठमाडौं, भदौ ११ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाको भाई र बुहारीको नाममा पनि सर्वोत्तम सिमेन्टको शेयर रहेको खुलासा भएको छ । नियामक निकायका प्रमुखको नाममा सर्वोत्तम सिमेन्टको शेयर रहेको खुलासा भएसँगै अहिले उनको भाई र बुहारीको नाममा पनि रहेको खुलेको हो । बोर्ड अध्यक्ष ढुंगानाले विवाहित छोरीले शेयर खरिद गर्दा आफ्नो गल्ति नहुने बताउँदै आउनुभएको थियो । तर आफ्नै भाई र बुहारीको नाममा पनि शेयर रहेको खुलासा भएको हो ।

बोर्ड अध्यक्ष ढुंगानाका सहोदर भाइ मणि ढुंगानाका नाममा कम्पनीको १७ हजार ८६८ कित्ता र बुहारी रोशन ढुंगानाका नाममा ५ हजार ८५६ कित्ता शेयर रहेको खुलेको हो । दर्ता किताबमा मणिको नाम मनि उल्लेख छ । मणि ढुंगानाको अभिभावकको नाममा नन्दराज ढुंगाना र रोशन ढुंगानाको अभिभावकमा भीष्मराज ढुंगाना उल्लेख गरिएको छ।

यसअघि अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाका नाममा सर्वोत्तम सिमेन्टको ११ हजार ९१२ कित्ता शेयर रहेको खुलेको थियो। नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदको श्रीमतीको नाममा पनि कम्पनीको शेयर रहेको खुलेपछि नैतिकतामा आधारमा छानविनमा सघाउन भन्दै राजिनामा दिईसक्नुभएको छ । त्यस्तै बोर्ड संचालक समिति सदस्य चन्द्र ढकालको भाईको नाममा पनि शेयर रहेको खुलेपछि बोर्ड सदस्यबाट राजिनामा दिईसक्नुभएको छ । हिमाल खबर