धनुषा, भदौ १० । मिहिनेत गरे विदेश भन्दा स्वदेशमै राम्रो कमाउन सकिन्छ भने गतिलो उदाहरण बन्नुभएको छ, जनकपुर–७ का ४० वर्षीय शम्भु कुमार यादव । १० वर्ष अघि बैदेशिक रोजगारबाट फर्किनु भएका यादव अहिले पोल्ट्री व्यवसाय गरेर करौडौंका मालिक हुनुभएको छ ।
२०५८ सालमा एसएलसी उर्तीण गर्नुभएका यादव साथीहरुको लहैलहैमा मलेशियामा रोजगारीका लागि पुग्नुभयो । विदेश पठाउने एजेन्टले सेल्सम्यानको काम गर्नुपर्छ भनेर पठाएपनि त्यहाँ उहाँलाई पोल्ट्री फर्ममा काम गर्न जिम्मेवारी दिइयो । ‘कखुरा सम्बन्धी मलाई केही ज्ञान थिएन, तर एक्कासी कुखुराको स्यहारसुसार गर्ने जिम्मेवारी पाएपछि समस्या भयो, यादवले सम्झनुभयो, ‘आफूले कहिले नचिताएको काम गर्नुपर्दा चुनौती थियो तर लाखौं रकम ऋण लिएर विदेशिएकाले पीडा लुकाएर काममा जुटेँ ।’
यसरी काम गर्दागर्दै मलेसियामा वर्षौं वित्यो यादवको । ‘विदेश हुदाँ मैले आफ्नै गाँउ फर्केर कुखुरा पोल्ट्री फर्म सञ्चालन गर्ने सोँच बनाइसकेको थिएँ,’ यादवले भन्नुभयो ।
त्यसपछि फर्किए नेपाल
७ वर्षसम्म कुखुरा फर्ममा काम गरेका यादवले सुरुमा गाँउकै साथीहरुसँग मिलेर ५ सय कुखुराको चल्ला किनेर पोल्ट्री व्यवसाय थाल्नुभयो । साथीहरुसँग मनमुटाव बढ्दै गएपछि एक्लैले काम थाल्नुभयो । उहाँको जोशमा घरपरिवार साथमा थियो । सुरुवाती दिनमा महिनाको पाँच सय कुखुरा उत्पादन गर्ने यादव अहिले प्रत्येक महिनामा २० हजार भन्दा बढी कुखुरा उत्पादन गर्नुहुन्छ ।
जिल्लाकै अब्बल
यादवले सञ्चालन गरेको पोल्ट्री व्यवसाय जिल्लामै एक नम्बरमा कहलिन थाल्यो । धनुषामा सवैभन्दा वढी कुखुरा उहाँकै फार्मले उत्पादन गर्छ । ‘जुन वेला मैले पोल्ट्री फार्म सञ्चालन गरे, त्यसवेला धनुषामा ७ वटा जति पोल्ट्री फार्म थिए’, विगत सम्झदै यादवले भन्नुभयो, ‘जनकपुर बजारलाई आवश्यक पर्ने दैनिक २५ देखि ३० क्विन्टलसम्म कुखुराको मासु दिन ती फार्मले सक्के कुरा भएन, मैले कमा थालेपछि बल्ल त्यो माग पुरा हुन थालेको हो ।’
२० जनालाई रोजगारी
यादवले २० जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिनुभएको छ । पोल्ट्री फार्म सञ्चालनका क्रममा राज्यबाट कुनै सहयोग नभएको उहाँको गुनासो छ । कुखुरा सम्बन्धी कुनै सल्लाह लिनुपरे वा कुखुरालाई औषधि खुवाउनु परे वाहिरबाट चिकित्सकलाई बोलाउने गरेका छन् । प्रदेश सरकार वा अन्य कुनै सरकारी निकायले दिने सम्मान राजनीतिक प्रेरित हुने उनको बुझाइ छ ।
किसानलाई अन्याय गर्दिन
कुखुरा कटर सेन्टर र कुखुरा उत्पादन गर्ने किसानबीच मूल्यको विषयमा अहिलेपनि बेलाबेला मतभेद हुन्छ । उहाँ किसानलाई ठगेर व्यवसाय चलाउने पक्षमा हुनुहुन्न । भन्नुहुन्छ, ‘कृषकहरुसँगको समनवयमा काम गरिरहेको छु ।’ दाना अभावमा थुप्रै दिन दानासमेत नखुवाइ कुखुरा पालेको अनुभव यादवसँग छ । ‘७ वर्षअघि मैले यो समस्या समाधान गर्न आफैले रुमा फिड सप्लायर्स दर्ता गराएँ र अहिले यही सप्लायर्समार्फत जनकपुर र धनुषाका अधिकाश पोल्ट्री फर्ममा दानाको आपुर्ति भइरहेको छ ।’ यादवसँग अहिले ३० भन्दा बढी कुखुरा किसान जोडिएका छन् । कुखुराको चल्लादेखि वितरणदेखि वयस्क कुखुराको बिक्री प्रवन्धसमेत यादवले नै गर्नुभएको छ ।
जिल्लामा मात्र सिमित छैन व्यवसाय
सफा र स्वच्छ मासुका लागि यादवले जनकपुर उपमहानगरपालिका –७ मा धनुषा फ्रेस हाउस कटर सेन्टर समेत स्थापना गर्नुभएको छ । शम्भुले उत्पादन गरेको कुखुरा धनुषाका सवैला, महेन्द्रनगर, ढल्केवर तथा काठमाडौं धरान, विराटनगरसहितका शहरमा पुग्छ ।
परिवारको दरिलो साथ
कोरोना महामारीका कारण अहिले व्यापार प्रभावित भएको उहाँनको अनुभव छ । यादवको व्यवसाय फस्टाउनमा एक्लो मिहिनेत भने होइन, उहाँको परिवारनै यो व्यवसायमा जुटेको छ । शम्भुका भाइ शिवशंकर यादव र दाजु लालबाबुको पनि महत्वपूर्ण योगदान छ । शिवशंकरले सिंगापुरमा होटल म्यानेजमेन्ट पढनुभयो । अहिले उहाँ दाजुको कुखुरा फार्म विस्तारमै जुटनु भएको छ ।
शम्भुका दाजु लालबाबु पनि सक्रिय रुपमा लाग्नुभएको छ । उहाँ अधिकांश समय फार्ममा कामगर्ने मजदुरका समस्या सुन्ने र व्यवसथापन गर्ने काममा जुटेका भेटिन्छन् ।
विदेश किन जानु के ?
विदेशमा गएकाहरुलाई स्वदेशमै काम गर्न यादवको सुझाव छ । ‘विदेशमा गरेको जति श्रम आफ्ना देशमै गरे देश विकासको साथै आम्दानी र प्रतिष्ठा कमाउन सकिन्छ’, यादव भन्नुहुन्छ, ‘ म महिनामै लाखौ कमाउछु भने स्वदेशमा काम गर्न खोज्ने युवाहरुले यो भन्दा वढी गर्न सक्छन्, अव बिदेश किन जानू ?’
न्यूज कारखाना













प्रतिक्रिया दिनुहोस्