काठमाडौं, भदौ १२ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश १ को प्रदेशसभामा कमजोर देखिएको छ । निर्वाचन आयोगमा एकीकृत समाजवादी पार्टी दर्ता भएसँगै माधव नेपालनिकट तर तटस्थ बसेका धेरै सांसदहरू एमालेमै खुलेका हुन । बिहीबार बसेको एमाले संसदीय दलको बैठकमा पार्टी विभाजन अघिसम्म माधव नेपालनकिट भनेर चिनिने ‘हार्डलाइनर’ सांसदहरू नै सहभागी भएका थिए। भीम आचार्यलाई दलको नेता बनाएर मुख्यमन्त्री बनाउने गरी बसेको संसदीय दलको बैठकमा ‘हार्डलाइनर’ सांसदहरूले एमालेमै रहेको सन्देश दिएका हुन ।
पार्टी विभाजन हुँदा केन्द्रमा दोस्रो पुस्ताका प्रभावशाली नेताहरू एमालेमै बसेपछि प्रदेश १ मा पनि त्यसको प्रभाव परेको छ । नवनियुक्त मुख्यमन्त्री आचार्य संस्थापन पक्षमै रहे पछि माधव पक्षमा खुल्दै आएका प्रदेश १ का अधिकांश सांसदहरू पनि एमालेमै बस्ने निर्णय गरेका हुन । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सांसद राजेन्द्र राईले नयाँ पार्टीमा एक दर्जन बढी सांसद लाग्ने दाबी गर्नुभएको थियो । । तर, माधव नेपालनिकट मानिएका ९ जना सांसद एमाले संसदीय दलको बैठकमा उपस्थित भएका थिए ।
मोरङका जीवन घिमिरे, लिलाबल्लव अधिकारी, यशोदा अधिकारी, सावित्रा रेग्मी, तेह्रथुमका लछुमन तिवारी, सुनसरीकी सावित्री जोशी, ताप्लेजुङका बलबहादुर साम्सोहाङ, होमकुमारी साँवा र इलामकी खिनु लङ्वा संसदीय दलको बैठकमा सहभागी हुनुभएको थियो । उहाँहरू सबैले आचार्यलाई दलको नेता र मुख्यमन्त्रीमा साथ दिनुभएको हो । पार्टी विभाजनले मान्यता पाउनु अघिसम्म नेपाल समूहमा १४ जना सांसद थिए । तर, पार्टी विभाजनले मान्यता पाएपछि त्यसमध्ये ९ जनाले संसदीय दलको बैठकमा सहभागी भएर नेपालको साथ छोडेको शन्देश दिनुभएको छ ।
एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले माधव नेपालले पार्टी विभाजन गरे पनि प्रदेश १ को प्रदेशसभामा त्यसको असर नदेखिएको बताउनुभयो । उहाँले माधव नेपाललाई प्रदेशसभाका तीन सांसदभन्दा बढीले साथ नदिने पनि दाबी समेत गर्नुभयो । संसदीय दलको बैठकमा सहभागि भएर मुख्यमन्त्री आचार्यको शपथग्रहणमा समेत सबै सांसद उपस्थित हुनुभएको थियो ।
सांसद जीवन घिमिरे शेरधन राई नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री हुनुहुन्थ्यो । तर, मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा उहाँले राजीनामा दिनुभएको थियो । भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई र पाँचथरका गणेश काम्बाङ मात्र नेपालको पार्टीमा खुल्नुभएको छ । मोरङकी कृष्णकुमारी राई, उपेन्द्र घिमिरे, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ कतै खुल्नुभएको छैन ।














प्रतिक्रिया दिनुहोस्