जनता टाइम्स

१६ भदौ २०७८, बुधबार २०:५९

प्रभु साहले सभामुखलाई अपराधी भनेपछि…


काठमाडौं, भदौ १६ । पूर्वमन्त्री प्रभु साहले सभामुख अग्निप्रसाद सापकोटालाई अपराधीको संज्ञा दिनुभएको छ । आज भक्तपुरमा आयोजित आईटी आर्मीको केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहनुभएको उहाँले सम्मानित ओहोदामा बसेका सभामुखले तटस्थ भूमिका निर्वाह गर्नुको सट्टा तल्लो स्तरको कार्यकर्ताको भूमिका देखाएको आरोप लगाउनुभएको हो ।

कुनै बैठकको निर्णय बिनै प्रचण्डको एकल पत्रको आधारमा उनीसहित कयौं सांसदलाई पदमुक्त गरेको सूचना टाँस्न थोरै पनि ढिलाई नगर्ने सभामुखले विधि पूर्वक दर्जनौं सांसदलाई पदमुक्त गर्ने निर्णय पठाउँदा पनि हप्ता दिनसम्म अल्झाएर पत्र फर्काएको साहको आरोप छ । पूर्वमन्त्री साहले सभामुख सापकोटालाई प्रचण्डको लठैत रहेको आरोप लगाउनुभयो । सभामुखको अमर्यादित हर्कतले वर्तमान व्यवस्था नै मजाक बनेको उहाँको ठहर छ । सभामुख सापकोटाले कानुन निर्माणदेखि कानुनको कार्यान्वयन अनुगमन गर्ने सम्मानित सदनको समेत अपमान गरेको पूर्वमन्त्री साहको आरोप छ ।

‘सभामुख जस्तो देशको एउटा सम्मानित ओहोदामा बसेको व्यक्ति तटस्थ रहनुपर्ने हुन्छ । तर, खुलेआम रूपमा सभामुखले पदीय मर्यादा बिर्सेर एउटा दलको तल्लो स्तरको कार्यकर्ताको भूमिकामा निर्वाह गर्नुभयो’, उहाँले भन्नुभयो । प्रचण्डको एउटा पत्रको भरमा सभामुख सापकोटाले आफूहरूलाई पदमुक्त गरेको उहाँको भनाई छ । त्यस्तै आज बसेको आईटी आर्मीको बैठकले संगठन विस्तारलाई तीव्रता दिँदै कार्य विभाजन गरेको छ ।