जनता टाइम्स

१८ भाद्र २०७८, शुक्रबार १८:३७

अध्यक्ष ओलीको गृहजिल्लामा एकजुट एमाले, वडा सदस्य समेत नखुलेपछि माधव शुन्य, ५०८ जनप्रतिनिधि एकढीक्का


काठमाडौं, भदौ १८ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा सबै तहका जनप्रतिनिधिहरु एकजुट हुनुभएको छ । नेकपा एमाले फुटाएर माधव कुमार नेपालले नेकपा समाजवादी दल बनाएपछि विभिन्न जिल्लामा परेको विभाजनको असर झापामा भने एकढीक्का देखिएको हो । झापामा नेकपा एसको पक्षमा एकजना वडा सदस्य खुलेका छैनन् ।

एमाले केन्द्रीय सदस्य हिक्मत कार्कीले झापामा सिंगो पार्टी कमिटी र जनप्रतिनिधिहरू पार्टी एकताको पक्षमा उभिएको बताउनुभयो । स्थानीय तहबाट निर्वाचितमध्ये अर्जुनधाराका मेयर हरि राना, भद्रपुरकी उपमेयर चन्द्रा श्रेष्ठ र शिव सताक्षीकी उपमेयर भोजकुमारी नेपाल विभाजनपूर्व माधव नेपाल समूहमा भएपनि हाल एमालेमै रहने बताउनुभएको छ ।

झापामा ५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये एमालेले ३ वटा जितेको छ भने प्रदेशसभामा एमालेका ९ जना छन् । यस्तै झापामा १५ स्थानीय तहका जम्मा ७२३ जनप्रतिनिधिमध्ये एमालेबाट ४९३ जनाले जितेका थिए । त्यसमा ६ जना मेयर, ८ जना उपमेयर, एकजना गाउँपालिका अध्यक्ष, ४ उपाध्यक्ष छन् । त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलसहित ९ जना पदाधिकारी पनि एमालेमै रहनुभएके हो ।