काठमाडौं, भदौ २१। आज बिहान देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले अघि बिहान ६ बजे दिएको जानकारीअनुसार प्रदेश नं १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।
काठमाडौं उपत्यकामा पनि अहिले वर्षा जारी छ। मौसमविद् मीनकुमार अर्यालका अनुसार काठमाडौं उपत्यकामा अति भारी वर्षा भएको छ। त्रिभुवन विमास्थल क्षेत्रमा गरिएको मापनअनुसार १०५ मिलमिटर वर्षा भएको पाइएइको उहाँले बताउनुभयो । यो भनेको अति भारी वर्षा हो। काठमाडौंमा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ । गएरातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् । एसएसपी सिंहका अनुसार मानवीय क्षति भने भएको छैन ।
अघिल्लो साता झरीपछि चार दिनदेखि मौसममा सुधार भएको थियो । चर्को घामका कारण स्थानीय वायु सक्रिय भएको र बंगालको खाडीबाट उत्तर पश्चिम क्षेत्रमा बनेको न्यूनचापीय रेखाका कारण नेपालतर्फ आएको जलवास्पयुक्त हावाका कारण वागमती प्रदेशका क्षेत्रहरुमा भारी वर्षा भएको हो ।भारी वर्षाका कारण काठमाडौं उपत्यकाको वागमती, विष्णुमती लगायतका ठूला नदीहरुमा भीषण बाढी आएको छ । धोवीखोलामा पनि पानीको सतह बढेर सडकसम्म आएको छ । काभ्रेको मुख्य बजार बनेपाल पूर्ण रुपमा जलमग्न बनेको छ । प्रशासनले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सजग रहन भनेको छ ।













प्रतिक्रिया दिनुहोस्