जनता टाइम्स

२१ भाद्र २०७८, सोमबार १७:३९

एमाले अध्यक्ष ओलीको प्रश्न – तुइनबाट नेपाली खसालिएको बारे भारतलाई थाहा दिन सक्नुहुन्न ?


काठमाडौं, भदौ २१ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुलास्थित महाकाली नदीमा भारतीय एसएसबीले तुइन चुँडाएर जयसिंह धामी बेपत्ता भएको घटनाबारे नेपाल सरकारले भारतलाई किन थाहा नदिएको भनेर प्रश्न गर्नुभएको छ । युवा संघको काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले देउवा सरकारलाई मंचबाटै सोध्नुभयो , तुइनबाट मान्छे खस्छ, बेपत्ता हुन्छ । त्यसबारे तपाईं बोल्नुहुन्न । नेपाली झारिन्छ भनेर प्रतिवेदन आउँछ

। तर पनि बोल्न सक्नुहुन्न । भारत भन्छ, थाहा छैन । भारतलाई नेपाल सरकारले किन थाहा दिन सक्नुहुन्न ? धामी महाकालीमा बेपत्ता भएको सम्बन्धमा भारत सरकारसँग प्रश्न किन नउठाएको भनेर ओलीले देउवा सरकारलाई प्रश्न गर्नुभएको हो । नागरिक मारिँदा पनि चुइक्क बोल्न सक्दैन ? सडकमा लाठी लगाउन सक्छ त युवाहरू बोल्ने बित्तिकै यस्तालाई भन्छन् घरका बाघ वनका स्याल, ओलीले भन्नुभयो । पाँच दलको सरकार हुँदा पनि नेपाली नागरिकलाई महाकालीमा खसालेको विषयमा चुइँक्क बोल्न नसकेको भन्दै ओलीले आलोचना गर्नुभएको छ । नागरिकलाई उक्त घटनाको विरोध नगर्न विज्ञप्ति जारी गरेकोप्रति पनि ओलीले आलोचना गर्नुभएको छ । उहाँँले तानाशाहीलेझैं शान्तिपूर्व विरोध गर्नमा रोक लगाउने काम सरकारबाट भएको भन्दै त्यसको विरोध गर्नुभएको हो ।