जनता टाइम्स

२२ भाद्र २०७८, मंगलवार १३:०७

अगहनी धानमा रोग र कीराको प्रकोप, चिन्तामा किसान


विजय चौहान / वीरगन्ज, २२ भदौ । पर्सामा लगाइएको अगहनी धानको बोटमा सिथब्लाइट रोग र गवारो कीराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् । बेलैमा रोपाइँ गरी खुसी भएका पर्साका किसान धानको बिरुवामा रोग र कीराको प्रकोप देखिएपछि उत्पादन गुम्ने चिन्ताले पिरोलिएका हुन् । सिथब्लाइट रोगका कारण धानको बिरुवा सुक्न र सड्न थालेपछि किसान चिन्तित देखिएका छन् ।

विन्दवासनी गाउँपालिका–१ गर्दौलका रहमान मिया धोवीले मौसमले साथ दिएकाले यस वर्ष चाँडै धान रोपे पनि अगहनी धानको बिरुवामा रोग र कीरा लागेपछि चिन्ता थपिएको बताउनुभयो । ‘पहिले बढी पानीका कारण खेतमा लगाइएको बीउ मरेर गयो र पछि फेरि बीउ लगाई रोपाइँ सम्पन्न गरेपछि रोग र कीराले धानको बिरुवा नै नष्ट गर्न लागेको छ,’ उहाँले गुनासो गर्नुभयो । तीन बिघामा लगाइएको सोना मुन्सुली र १५ कठ्ठामा लगाइएको बास्मती धानको बिरुवामा रोग र कीरा लागेको उहाँको भनाइ छ ।

बहुदरमाई नगरपालिका भौराटाँरका किसान श्रीनारायण महतोले रोपिएको मन्सुली धानको बिरुवाको जरा तथा पात्त पहेंलो भई बिरुवा नै सुक्न थालेको बताउनुभयो । पर्सामा यस वर्ष ३५ हजार २० हेक्टर क्षेत्रफलमा अगहनी धान रोपिएको छ । रोपाइँ भएकामध्ये ७० प्रतिशत धानको बिरुवामा सिथब्लाइट रोग र गवारो कीराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।

पर्साका १४ वटै पालिकामा २४ हजार पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको सोना मन्सुली र बास्मती धानको बिरुवामा सिथब्लाइट रोग र गवारो कीराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिनुभयो । यो प्रकोप पर्साको विन्दवासनी, धोवनी, पटेर्वासुगौली, कालिकामाई गाउँपालिका र बहुदरमाई, पर्सागढी तथा पोखरिया नगरपालिकामा देखिएको बताउनुभयो ।