काठमाडौं, भदौ २२ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, नर्वेको संस्थापक अध्यक्ष कुमार पण्डितले एनआरएनए यूरोप क्षेत्रीय उपसंयोजक पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । उहाँले आफूले यसअघि नर्वेको संस्थापक अध्यक्ष भएर सक्रिय रुपमा एनआरएनमा भूमिका निर्वाह गरेको भन्दै अहिले यूरोप क्षेत्रीय उपसंयोजकमा उम्मेद्वारी दिएको बताउनुभयो । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागिरहेका छन् ।
आगामी अक्टोबरमा हुने १० औं महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले प्रचार–प्रसार थालेका हुन् । आगामी अक्टोबर २३ देखि २५ सम्म नेपालमा हुने एनआरएनए अन्तरर्राष्ट्रिय परिषद् आइसिसीको सम्मेलनको दौरानमा हुने निर्वाचनमा विभिन्न पदका आकांक्षीले धमाधम उम्मेद्वारी घोषणा गरिरहेका छन् । यसै सन्दर्भमा हाल नर्वेमा रहनुभएको पण्डितले युरोप क्षेत्रीय उपसंयोजक पदमा उम्मेद्वारी दिने तयारी गर्नुभएको हो ।

उहाँले भन्नुभयो,‘गैर–आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, नर्वेको स्थापना लागि सक्रिय भूमिका निर्वाह गरि संघको संस्थापक अध्यक्ष भई सन् (२०१५– २०१७) मा पुनः अध्यक्षमा नेतृत्व प्रदान गर्दै हालसम्म पनि सल्लाहकार एवं अन्य भूमिकामा रही निरन्तर सक्रिय रहँदै आएको छु।’ उहाँले थप्नुभयो, ‘संघका अग्रज एवं साथीहरुको सल्लाह बमोजिम १० औं एनआरएन ग्लोबल सम्मेलन र एनआरएनए अन्तर्राष्ट्रिय महासभामा हुने (२०२१–२०२३) कार्यकालको लागि यूरोप क्षेत्रीय उपसंयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेको हुँ ।’
पण्डितले आफूले स्वतन्त्र र निष्पक्ष रुपमा रही महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । विगत १५ वर्षदेखि एनआरएनमा आवद्ध उहाँले आफूले अग्रजहरुको आशिर्वाद एवं साथीहरुको मायाको अगाडि बढ्न लागेको पनि जनाउनुभयो । संस्थामा आफूले विशुद्ध सामाजिक एवं समावेशी संस्थाको रुपमा अगाडी बढाउन प्रेरित गर्ने बताउनुभयो । काठमाडौंको गोकर्ण–२ स्थायी घर भई हाल लामो समयदेखि नर्वेको ओस्लोमा बसोबास गर्दै आउनुभएको पण्डितको विभिन्न व्यवसायमा लगानी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्