जनता टाइम्स

२२ भाद्र २०७८, मंगलवार १८:३०

चितवनमा ३१ जनप्रतिनिधि नेपालको पक्षमा : तीन स्थानीय तहमा शून्य, पाँचजनाले सनाखत फिर्ता मागे


काठमाडौं, २२ भदौ । चितवन । चितवनका ३१ जना जनप्रतिनिधिले एमाले विभाजित भएर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादी रोजेका छन् । जसमध्ये ११ जना वडाध्यक्ष छन् भने २५ जना सदस्यहरु छन् । चितवनमा एमालेबाट निर्वाचित ३ सय ९ जना जनप्रतिनिधिमध्ये नेकपा एसको पक्षमा न्यून जनप्रतिनिधिहरु सनाखत गर्नुभएको छ ।

३६ जनाले एमाले त्याग गरेर एकीकृत समाजवादी दल रोजेर सनाखत गरेकोमा ५ जना सदस्यहरुले सनाखत फिर्ताका लागि निवेदन दिनुभएको छ । अज्ञानबस दल त्याग गरेकाले एमालेमै रहने भन्दै निवेदन दिनेहरुमा भरतपुर १५ का रामबहादुर लामा, २२ मन देउमाया विक, रत्ननगर ३ का विमला परियार, ६ का कृष्णहरी परियार र ८ का कुमारी विक हुनुहुन्छ । तर, उहाँहरुको सनाखत फिर्ता हुने वा नहुनेबारे निर्वाचन आयोगले केही दिनमा निर्णय गर्नेछ ।

दल परिवर्तन गर्नेहरुमा भरतपुर महानगरका वडाध्यक्षहरु ७ का राजेन्द्रमणि काफ्ले, ९ का यमलाल कँडेल, १० का अरुणपीडित भण्डारी, १२ का नरेन्द्र कनदङवा र २२ का विष्णुराज महतो हुनुहुन्छ । भरतपुर महानगरमा एमालेका १३ वडाध्यक्ष सहित ६९ जनप्रतिनिधि निर्वाचित भएकोमा १५ जनामात्रै नेकपा एसमा लाग्नुभएको छ । रत्ननगरमा वडाध्यक्षहरु ५ का कृष्ण महतो, ९ का रोशन आचार्य, १४ का हरिकुमार श्रेष्ठ र १५ का हुमनाथ लामिछाने हुनुहुन्छ । रत्ननगरमा मेयर, उपमेयर, १० वडाध्यक्ष सहित एमालेबाट ५२ जना एमालेबाट निर्वाचित हुनुभएको थियो । जसमध्ये १६ जना जनप्रतिनिधिमात्रै नयाँ दलमा लाग्नुभएको छ ।

राप्तीमा ४ नम्बर वडाका वडाध्यक्ष शमशेर लामा र अन्य एक जना वडा सदस्य प्रवेश गर्नुभएको छ । राप्तीमा मेयर, उपमेयर, ११ वडाध्यक्ष सहित एमालेबाट ५४ जना निर्वाचित हुनुभएको थियो ।

माडी ३ का वडाध्यक्ष पुरन महतोसहित ३ जना एकीकृत समाजवादीमा खुल्नुभएको छ भने माडीमा उपमेयरसहित ५ वडामा सेटसहित २६ जना जनप्रनिनिधिले एमालेबाट विजयी हुनुभएको थियो । स्थानीय तहको चुनावमा चितवनमा एमालेबाट ३ सय ९ जना जनप्रतिनिधिमध्ये ४ मेयर र ५ उपमेयर, ५५ जना वडाध्यक्ष निर्वाचित हुनुभएको थियो ।

चितवनका ३ स्थानीय तहमा नेकपा एसमा लाग्ने जनप्रतिनिधि शून्य देखिएको छ ।कालिका, खैरहनी नगरपालिका, इच्छाकामना गाउँपालिकामा नेकपा एसमा लाग्ने जनप्रतिनिधि छैनन् । एमालेबाट कालिकामा मेयर, उपमेयर, ६ वडाध्यक्ष सहित ३४ जना, खैरहनीमा मेयर, उपमेयर, ७ वडाध्यक्षसहित ३८ जना, इच्छाकामनामा ३ वडाध्यक्षसहित १४ जना जनप्रतिनिधि निर्वाचित हुनुभएको थियो । चितवनमा ७ स्थानीय तहमा ९८ वडाहरु छन् ।