काठमाडौं, २२ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाले एमसीसी परियोजना जबरजस्ती नेपालमा लाद्न खोजेको भन्ने भ्रामक टिप्पणी भइरहको बताउनुभएको छ ।
। मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बाबुराम भट्टराईको सरकारबाट सुरु भएको परियोजना नेपालले मागेर मात्र अमेरिकाले दिएको बताउनुभयो । “हामीले मागेर परियोजना आएको हो, अमेरिकाले जबरजस्ती दिएको भन्ने भ्रामक कुरा चिर्नुपर्छ,” देउवाले भन्नुभयो ।
उहाँले अमेरिकी सहयोग परियोजना एमसीसीबारेका भ्रम जनताबाट हटाउन आवश्यक रहेको बताउनुभयो । बैठकमा सहभागी एक सांसदकाअनुसार देउवाले अहिले माओवादीले एमसीसी परियोजनाको विरोध गर्नुको तुक नभएको धारणा ब्यक्त गर्नुभएको हो । आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काठमार्डौमा भएको एक कार्यक्रममा एमसीसी पास गर्नुहुदैन भन्नुभएको थियो । यसैले देउवाले माओवादी त्यसको विरोध गर्नुको तुक नभएको बताउनुभएको हो । एकै गठबन्धन भित्र मत मतान्त्तर बढ्दै गएको आँकलन नेपाली राजनीतिमा गरिएको छ । “तत्कालीन राष्ट्रिय योजना आयोगको उपाध्यक्ष जो माओवादी निकट थिए उनीहरूकै सल्लाहमा तत्कालीन अमेरिकाका लागि नेपाली राजदूत शंकर शर्माको माध्यमबाट अनुनय विनय गरेर परियोजना ल्याइएको हो,” बैठकमा प्रधानमन्त्री देउवाले भन्नुभयो । रसिया र चीनको बिचमा रहेको राष्ट्र मंगोलिया र इन्डोनेसियाले दोस्रोपटक परियोजना लिएको भन्दै देउवाले सैनिक रणनीतिको हिस्सा एमसीसी नभएको बताउनुभयो ।
“यो विशुद्ध विकास परियोजना हो, हामीले जनतालाई बुझाउनुपर्छ,” बैठकमा देउवाले भन्नुभयो , “सैनिक रणनीति भएको भए शक्ति राष्ट्रहरूकोबिचमा भएका साना देशहरूले दुई दुईपटक किन परियोजना लिन्थे होला र ” उनले आफ्नो सरकारले ११ बुँदामा परियोजनाबारे अमेरिकालाई सोधेको र त्यसको चित्तबुझ्दो जवाफ आएपछि मात्र संसद्मा टेबल गरिने प्रतिबद्धता व्यक्त गरेको एक सांसदले बताउनुभयो । बैठकमा बोल्दै सांसद गगन थापाले सरकार अलोकतान्त्रिक मार्गमा हिँड्न खोजेको भन्दै प्रश्न उठाउनुभएको थियो । “सरकार अलोकतान्त्रिक भयो, अभिव्यक्ति स्वतन्त्रता खोस्यो भनेर हिजो हामी प्रतिपक्षमा बस्दा प्रश्न उठायौँ, विरोध ग¥यौँ,” थापाले भन्नुभएको थियो , “आज हामी त्यही कदम चाल्दैछौँ जुन् हाम्रा लागि ब्याक फायर हुन्छ ।”
तीन तहको चुनाव नजिकिएको बेलामा सरकार संवेदनशील हुनुपर्ने थापाको जोड थियो । बुधबार संसद् बैठकमा दल विभाजन सहज गर्न संशोधनसहित ल्याइएको अध्यादेश प्रस्तुत गरिने भएको छ । यस्तै, केपी ओली नेतृत्वको सरकराले अध्यादेशबाट ल्याएको बजेट पास गराउने तयारी सरकारले गरेको छ ।संसद् बैठक भोलि अपराह्न ४ बजेका लागि बोलाइएको छ ।














प्रतिक्रिया दिनुहोस्