जनता टाइम्स

२३ भाद्र २०७८, बुधबार २२:२७

अमेरिकाले भन्यो : एमसीसी संशोधन हुन सक्दैन


काठमाडौँ, भदौ २३ । अमेरिकाले एमसीसी सम्झौता संशोधन हुन नसक्ने जवाफ सरकारलाई दिएको छ । सरकारले सोधेका ११ मूलप्रश्नको जवाफ दिँदै एमसीसी उपाध्यक्ष फतिमा सुमारले उक्त कुरा बताउनुभएको हो ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता लागू गर्ने हो भने पहिले संशोधन हुनुपर्ने नेपालका प्रमुख दल र नागरिकस्तरबाट समेत आवाज उठिरहेको बेला अमेरिकाले इन्कार गरेको छ । सम्झौतामाथि नेपालमा उठेका प्रश्‍नहरूलाई सरकारले आफ्नोतर्फबाट पठाएको प्रश्‍नको जवाफ दिँदै सम्झौताको मूल अंश भने संशोधन हुन नसक्‍ने उल्लेख गरेको हो । नेपाल भ्रमणमा आउन लाग्नु भएकाी एमसीसी उपाध्यक्ष फातिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई लेखेको जवाफमा हस्ताक्षर भइसकेको एमसीसी सम्झौता अहिले संशोधन हुन नसक्ने उल्लेख गर्नुभएको छ ।

नेपाल सरकारले ६ नम्बर बुँदामा संशोधनको कुरा संसद्‌बाट किन अनुमोदन हुन नसक्‍ने भन्दै सोधेको प्रश्‍नको जवाफ दिँदै सुमारले भन्नुभएको छ– हस्ताक्षर भइसकेको एमसीसी नेपाल कम्प्याक्ट अहिले संशोधन गर्न सकिँदैन । अर्थ मन्त्रालयले नेपालमा बहसको रुपमा उठेको सम्झौतासम्बन्धी उठेका विषयलाई ११ प्रश्नको रुपमा तयार गर्दै अमेरिकालाई प्रश्न सोधेको थियो । सामान्यता कम्प्याक्टको निलम्बन वा अन्त्य, कु, बाह्य आक्रमण वा जनताविरुद्ध उल्लेख राजनीतिक हिंसाजस्ता ठूला राजनीतिक उथलपुथलका घटनाको कारणले मात्रै भएको छ, पत्रमा भनिएको छ, सार्वभौम राष्ट्रको हैसियतले नेपाल सरकार र अमेरिकी सरकारका तर्फबाट एमसीसी दुवैसँग एकपक्षीय रुपमा ३० दिनको सूचना दिएर कम्प्याक्ट अन्त्य गर्नसक्ने अधिकार छ, जवाफमा एमसीसी हिन्द प्रशान्त रणनीतिको महत्व नभएको भन्दै स्पष्टीकरण दिएको छ ।

नेपाल सरकार र एमसीसीबीच २०७४ भदौमा एमसीसी सम्झौता कार्यान्वयनको विषयमा सहमति भएको थियो । तर, संसद्‌बाट अनुमोदन हुन नसक्दा परियोजनाको भविष्य अन्योलमा छ । परियोजना सञ्चालन गर्न गठन गरिएको मेलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए-नेपाल)ले कार्यालय सञ्चालन गरेको छ । जग्गा अधिग्रहणलगायत अन्य विभिन्न शीर्षकमा हालसम्म करिब साढे ५ अर्ब खर्च भइसकेको छ ।

अमेरिकाले ५० करोड र नेपालको १३ करोड अमेरिकी डलरबाट ३ सय १३ किलोमिटर लामो विद्युत् प्रशासन लाइन निर्माण गर्ने र एक सय किलोमिटर राजमार्ग स्तरोन्नति गर्ने परियोजना रहेको छ ।