उदयपुर, भदौ २४ । देशकै सबैभन्दा ठूलो उद्योग उदयपुर सिमेन्ट उद्योगले पछिल्लो ६ महिनामा करिब ८० करोडको हाराहारीमा कारोबार गरेको छ।
माघ १ गते उद्योगमा महाप्रबन्धकको भूमिकामा प्रवेश गरेका गोपीकृष्ण न्यौपानेले छोटो समयमा उद्योगमा उल्लेखनीय प्रगति गरेका हुन्। सरकारी उद्योग टाट पल्टिएको समाचारहरू बाहिरिएको बेला उद्योगले २०७७ माघ १ देखि असार मसान्तसम्म ७९ करोड २२ लाख ७ हजार ७ सय ९ रुपैयाँको सिमेन्ट बिक्री गरेको हो।
बिक्री विभागको तथ्यांकअनुसार १० लाख ६९ हजार १ सय ८३ बोरा सिमेन्ट बिक्री भएको छ। उद्योगले अघिल्लो आर्थिक वर्षको साउनदेखि पुस मसान्त ६ महिनासम्म ९ लाख ९८ हजार ५ सय ८६ बोरामात्र सिमेन्ट बिक्री गरेको थियो। उद्योग प्रवेश गरेलगत्तै उत्पादन र बिक्रीमा ध्यानकेन्द्रित गरेका न्यौपानेले आम्दानीसँगै उत्तिकै ऋणसमेत तिरेको तथ्यांकले देखाएको छ। उद्योगले अघिल्ला वर्षको विभिन्न १२ शीर्षकमा बाँकी बक्यौता रहेको ६५ करोड ८२ लाख ५५ हजार ९ सय १५ रुपैयाँ ३० पैसा तिरेको छ। त्यसमध्ये सबैभन्दा बढी इन्धन तथा कच्चा पदार्थको बाँकी रकम २३ करोड १८ लाख १८ हजार ८ सय ५१ रुपैयाँ र विद्युत् महसुलबापत १८ करोड ५२ लाख ४० हजार ४ सय ३६ रुपैयाँ १४ पैसा रहेको छ।
त्यस्तै अन्य सामान सेवा खरिद, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, तलब, अतिरिक्त समय भत्ता तथा अन्य, मूल्य अभिवृद्धिकर, अन्त शुल्क, सप्लाई कर, पारिश्रमिक आयकर, सामाजिक सुरक्षा कर, रोयल्टी, ऋण तथा अन्य र उपदान कोष तथा औषधि उपचार कोषमा ठूलो रकम जम्मा गरेको लेखा शाखाले जनाएको छ।
त्यसैगरी, माघ यता विभिन्न शीर्षकमा गरी ३१ करोड ११ लाख ७ हजार ३ सय ८० रुपैयाँ तिरेको लेखा शाखाले जनाएको छ। राजस्व बक्यौतातर्फ २०७७ पुस मसान्त अघि अन्तशुल्क, मूल्य अभिवृद्धि कर, खानी दस्तुर, डीटीएस तथा अन्य गरी ३ करोड ९१ लाख २१ हजार १ सय १३ रुपैयाँ भुक्तानी भइसकेको जनाइएको छ।
साधारणसभाले तय गरेको नीति अनुरूप २०७७ माघ यता नियमितरूपमा राजस्व भुक्तानीलाई पहिलो प्राथमिकतामा राखी तिर्ने गरिएको र बक्यौता रकम पनि नगद प्रवाह अनुकूल तिर्दै जाने लक्ष्य राखिएको महाप्रबन्धक न्यौपानेले बताउनुभयो । उद्योगले यो आर्थिक वर्षमा मात्रै यस्ता शीर्षकका ४१ करोड २५ लाख ४८ हजार ८ सय ६८ रुपैयाँ भुक्तानी गरेको उहाँले बताउनुभयो । नेपाल सरकारको अनुदानतर्फ भने उद्योग स्थापनादेखि २०७६ मंसिर २३ गतेसम्म आरएसपी जडानका लागि गरेको १ करोड ४९ लाख ६५ हजार प्राप्त गरेको बताइएको छ। उद्योगले अधिकृत बिक्रेता निर्देशिका पुनर्लेखन तथा स्किमअनुसार २०७७ कार्यविधि जारी गरी अधिकृत बिक्रेतालाई लक्ष्य निर्धारण गरी बढी सिमेन्ट बिक्री गर्दा इन्सेन्टिभ दिने व्यवस्था मिलाएको छ। र सोहीअनुसार विभिन्न फेस्टिभल डिस्काउन्ट गरी अन्य सुविधा प्रदान गरी गैंडाछाप सिमेन्टको वर्चस्व कायम राख्ने गरी स्किमहरू ल्याइएको उहाँले बताउनुभयो ।
आर्थिक सुशासनका हिसाबले उद्योगले कोइला, जिप्सन, आइरन, कच्चा पदार्थको भुक्तानी बैंक खाताबाट नगरी सिमेन्ट दिएर भुक्तानी गर्ने व्यवस्थाको अन्त्य गरी चेकमार्फत कारोबार सुरु गर्ने गरी नीतिगत व्यवस्था गरेको छ। उद्योगको मुख्य उपलब्धिका रूपमा १४ वर्षपछि वार्षिक साधारणसभा पनि एक हो। संस्था चलाउने मेरुदण्ड भनेकै साधारणसभा भएकाले प्राथमिकतामा राखेर साधारणसभा गरिएको महाप्रबन्धक न्यौपानेले बताउनुभयो । कम्पनी दर्ता भएको आर्थिक वर्ष २०४४/०४५ पछि कम्पनी रजिस्ट्रारको कार्यालयमा अध्यावधिक नगरिएकोमा आर्थिक वर्ष २०६३र०६४ देखि आ.व.२०७६/०७७ सम्मको साधारणसभा सम्पन्न गरी अध्यावधिक गरिएको उहाँले बताउनुभयो । यसैगरी उद्योगमा जडान गरिएको ईआरपी सिस्टमलाई अध्यावधिक गरी उत्पादन, स्टोर्स, लेखा, मानव संसाधन, बिक्री सबै विभागको एमआईसीमार्फत सूचना आदानप्रदान गर्न थालिएको जनाइएको छ। त्यस्तै वित्तीय विवरण अनएफआरएसमा आधारित रहेर तयार गर्ने गरी कन्सल्टेन्ट नियुक्ति गरी कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ।
उद्योगको मुख्य समस्याको रूपमा रहेको कोलमिलको रोलर, टायर मर्मत, कुलर सिस्टमको बिम प्लेट, इपीको रड, प्लेट तथा बिम मर्मत, जीबीएफ, सिमेन्ट मिलको डाफार्म लाइरन फेरि मर्मतसम्भार पछि सञ्चालनमा ल्याउनुलाई अर्को उपलब्धिको रूपमा हेरिएको छ। उद्योगले गति लिएर सँगै कतिपय मेसिन, पार्टपुर्जा पुरानै अवस्था रहेकाले पूर्ण क्षमता आठ सय मेट्रिकटन उत्पादन गर्न नसकिएकोले मर्मत सम्भार गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्