जनता टाइम्स

२४ भाद्र २०७८, बिहीबार १६:४३

एमसीसीबारे यस्तो छ एमालेको प्रष्ट कुरा


भक्तपुर, भदौ २४ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अमेरिकी अनुदान मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) संझौताबारे प्रष्ट बटमलाइन सुनाउनु भएको छ । आफ्नै निवास बालकोटमा आज भेट्न आइपुग्नुभएकी एमसीसी उपाध्यक्ष फतिमा सुमारसहितको अमेरिकी टोलीलाई एमाले अध्यक्ष ओलीले एमालेको धारणा सुनाउनु भएको हो ।

बार्तामा सहभागी हुनुभएका एमाले प्रचार बिभाग उपप्रमुख सूर्य थापाले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले अहिलेसम्म आफूहरुसँग छलफल नगरेको भन्दै एमसीसीबारे तत्काल धारणा नबनाउने प्रष्ट पार्नुभएको छ । सत्तारुढ दलहरुले एमसीसीबारे स्पष्ट धारणा बनाएपछि मात्र आफूहरुले पोजिसन क्लियर गर्ने अध्यक्ष ओलीले बताउनु भएको हो । अध्यक्ष ओलीले रुलिङ पार्टीको पोजिसन क्लियर हुनुपर्ने धारणा राख्नुभएको हो । ‘हामीले हतारिएर पोजिसन बनाउँदैनौं । पहिले सरकारमा रहेकाहरुले पोजिसन क्लियर गर्नुपर्छ,’ भेटमा अध्यक्ष ओलीको भनाई उधृत गर्दै एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले भन्नुभयो ।

भेटमा एमसीसी उपाध्यक्षले अनुमोदनको प्रक्रिया बढाउनुपर्छ भन्ने अमेरिकी पोजिसन रहेको बताउँदै प्रक्रियामा सघाउन आग्र गर्नुभएको छ । बालकोट भेटमा एमसीसी उपाध्यक्ष सुमारसँगै नायव उपाध्यक्ष जोनाथन ब्रुक्स लगायतको एमसीसी प्रतिनिधिमण्डल सहभागि थियो । बार्तामा एमालेको तर्फबाट विदेश विदेश विभाग प्रमुख भट्टराई, नेता विष्णु रिमाल र प्रचार बिभाग उपप्रमुख सूर्य थापालगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।

आजको छलफलमा एमाले अध्यक्ष ओलीले एमसीसीलाई आफ्नो सरकारको पालामा पारित गराउन चाहे पनि सभामुखलगायत हालका सत्तारुढ गठबन्धनका नेताहरु बाधक बनेको भन्दै अहिले पनि एमसीसीबारे सत्तारुढ गठबन्धन नै पहिला प्रष्ट हुनुपर्ने बताउनु भएको छ । एमाले अध्यक्ष ओलीले यसअघि संसदमै एमसीसीबारे सत्तारुढ गठबन्धनको धारणा माग्नुभएको थियो ।