जनता टाइम्स

२४ भाद्र २०७८, बिहीबार २३:०२

माधव नेपालले दिए एमसीसी अघि बढाउने संकेत


काठमाडौं, भदौ २४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे सत्ता गठबन्धनमा छलफल गरेर सहमतिमै अघि बढाउने बताउनु भएको छ । एमसीसीका उपाध्यक्ष फातिमा सुमारसँग आज भएको भेटवार्तामा नेपालले यस्तो धारणा राख्नुभएको हो ।

भेटमा सुमारले एमसीसी अनुमोदन प्रक्रिया बढाउन आग्रह गर्नुभएको र जवाफमा नेपालले यसबारे सत्ता गठबन्धनमा छलफल भैरहेको र एमसीसीबारे साझा दृष्टिकोण बनाएर प्रचलित कानूनअनुसार अघि बढाउने बताउनु भएको भेटमा सहभागी नेता गंगालाल तुलाधरले जानकारी दिनुभयो ।

‘राष्ट्रहितभन्दा बाहिर गएर सो सम्झौंता अघि बढन सक्दैन भन्ने कुरामा हामी दृढ छौं । हामी कमसेकम पनि पाँच पार्टीको बीचमा सहमती बनाएर यो कुरा गर्ने कि नगर्ने भन्ने निर्णयमा पुग्छौं । राजनीतिक दलहरु जो सरकारमा सामेल छन । ती सबै राजनीतिक दलहरुको कन्सर्नको कुरा हो । त्यसैले हामीहरु आफू पनि छलफल गरेर सहमतीमा अघि बढछौं,’ भेटबार्तामा नेपालको भनाई उधृत गर्दै नेता तुलाधरले भन्नुभयो ।

माधवको यो भनाईले सत्तारुढ गठबन्धनमा छलफल गरी एमसीसी अघि बढाउने संकेतको रुपमा लिइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेस एमसीसीको पक्षमा रहेको र नेपालले सत्ता गठबन्धनमा सहमति जुटाएर निर्णय लिने बताएपछि सत्तारुढ गठबन्धन केही बहाना बनाएर एमसीसी पारितको पक्षमा रहेको स्रोतले बताएको छ ।

स्रोतले जनताटाइम्सलाई दिएको जानकारीअनुसार एमसीसी पारित गर्ने बिषयलाई लिएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालले महत्वपुर्ण मन्त्रालयको बार्गेनिङ गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आफूहरुले भने अनुसारको कमाउ मन्त्रालय दिएमा एमसीसीबारे अमेरिकाले प्रष्ट पारेको भन्दै पारित गरिने छ भने प्रधानमन्त्रीले कमाउ मन्त्रालय नदिए एमसीसीको बिपक्षमा उभिने रणनीति बनाएको छ । सोही कारण नेपालले सत्ता गठबन्धनमा सहमति गरेर एमसीसीबारे निर्णय लिने जनाउ दिनुभएको स्रोतले बतायो ।

यसैगरी अध्यक्ष नेपालले जनतालाई कन्भिन्स गराएर मात्रै सो सम्झौता अघि बढाउनुपर्ने अवस्था रहेको बाध्यता पनि राख्नुभएको छ । जवाफमा फातीमाले एमसीसी कुनै सैन्य रणनीति अन्तरगतको कार्यक्रम नभएको बताउनु भएको थियो । अध्यक्ष नेपालले भने एमसीसीबारे भ्रमपूर्ण सन्देश दिने काम स्वय अमेरिकी सरकारबाट भएको बताउनु भएको छ ।