संखुवासभा, भदौ २६ । संखुवासभा मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका छ जनाको हत्या आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। नातामा भतिजा पर्ने उम्लिङकै २५ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले आइतबार पत्रकार सम्मेलनमा पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्ने जनाएको छ । संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालले आइतबार चैनपुरमा सार्वजनिक गरिने बताउनुभयो ।
यसअघि प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताउँदै आएको थियो । प्रहरीले अरु कसैलाई पक्राउ नगरेको बताएको छ । शुक्रबार थप एक जना शंकास्पद व्यक्तिमाथि अनुसन्धान अघि बढाएको र शुक्रबार नै एक जना छिमेकीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका छिमेकीको घर घटना घटेको घरबाट करिब १ सय ५० मिटरको दूरीमा रहेको एसपी दाहालले बताउनुभयो । घटनास्थलमा प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र संघीय इकाई प्रहरी कार्यालय धरानसमेतको ठूलो टिम परिचाल भएको थियो ।
मादी नगरपालिका–१ स्थित तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको सोमबार बिहान शव फेला परेको थियो । तेजबहादुर कार्की, आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमा कार्कीको हत्या भएको हो । प्रहरीका अनुसार कार्की केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए।













प्रतिक्रिया दिनुहोस्