जनता टाइम्स

२६ भाद्र २०७८, शनिबार २०:१६

एमालेको चेतावनी : संसदमा अप्रिय घटना भए सभामुख र सत्तापक्षले जिम्मा लिनुपर्छ



काठमाडौं, भदौ २६ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख र सत्तापक्ष एकलौटी ढंगले अघि बढ्न खोज्दा संसदमा अवरोध गर्नुपरेको जनाएको छ । साथै सो पार्टीले भोलि संसदमा अप्रिय घटना भए त्यसको जिम्मेवार पनि सभामुख र सत्तापक्ष नै हुने चेतावनी दिएको छ । शनिबार बसेको एमाले स्थायी समिति बैठकले विभिन्न प्रस्ताव पास गर्दै यस्तो चेतावनी दिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । उहाँले सभामुखले समस्या समाधानमा चासो नदेखाएको पनि बताउनुभयो।

उहाँ ले सत्तापक्ष एकलौटी ढंगले जान खोजेको र सभामुखले निष्पक्ष भूमिका निर्वाह गरेर नगएकाले भोलि त्यसले संसदलाई कहाँ पुर्याउँछ भन्न नसकिने बताउनुभयो । ‘परिस्थितिलाई उत्तेजित बनाउने काम सत्तापक्ष र सभामुखबाट भएको छ । भोलि संसदमा कुनै अप्रिय घटना भयो भने त्यो सभामुख र सत्तापक्षले जिम्मेवारी लिनुपर्छ’ एमालेको चेतावनी छ । सरकारले बलमिच्याई गर्दै नयाँ बजेट ल्याएकोमा पनि एमालेले आपत्ति जनाएको छ ।

एमाले नेतृत्वको सरकारले ल्याएको आर्थिक वर्ष २०७८/७९ को लोकप्रिय कार्यक्रम कटौती गरेको र हचुवाको भरमा कार्यक्रम थपेको एमालेको भनाइ छ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले बिरोध जनाउँदै गर्दा प्रतिस्थापन विधेयक ल्याउने काम अशोभनीय भएको र नेकपा एमालेलाई बलमिच्याइँ गरेको पार्टीले निस्कर्ष निकालेको छ । सचिव भट्टराईले आफ्नो सरकारले ल्याएको लोकप्रिय बजेटको कटौति गरेर हचुवाको भरमा कार्यक्रम थपेको पनि बताउनुभयो ।

सचिव भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमाले पार्टी विभाजनको निम्ति खेल्नुभएको भूमिका र निष्पक्षतामाथि टिप्पणी रहेको बताउनुभयो । उहाँले सभामुखले संसदलाई निष्पक्षतामा नलगी सत्तापक्षको प्रतिनिधि भएर काम गरेको आरोप लगाउनुभयो । उहाँले अहिले सडकमा विभिन्न विषयवस्तुमा भइरहेको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले अनावश्यक धरपकड गरी, जनतालाई दुःख दिएकोमा सरकारलाई स्थिती उत्तेजित नबनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय भएको हो ।