जनता टाइम्स

२६ भाद्र २०७८, शनिबार २३:२६

एनआरएनए सदस्य संख्या ५ लाख पुर्याउने आचार्यको घोषणा


काठमाडौं, भदौ २७ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षका उम्मेदवार कुल आचार्यले आफू निर्वाचित भएमा संघको सदस्य संख्या पाँच लाख पुर्याउने महत्वाकांक्षी योजना सार्वजनिक गर्नुभएको छ । अहिले संघको सदस्य संख्या १ लाख बढी छ । आचार्यले थप मुलुकहरुमा संघका शाखा विस्तार गरेर तथा राष्ट्रिय समन्वय परिषदहरुलाई क्रियाशील गराएर सदस्य संख्या पाँच गुणा बढाउने योजना ल्याएको बताउनुभयो ।

उहाँले संघका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको संख्या एक सय पुर्याउने पनि बताउनुभयो । हालसम्म ८४ देशमा एनआरएनए पुगेता पनि बीस भन्दा बढी एनसीसी निष्कृय रहेका छन् । आचार्यले तेस्रो पुस्ता पछिका गैरआवासीय नेपालीहरुको नेपालमा पैतृक सम्पत्तिको अधिकार सुरक्षित गर्नुका साथै राहदानी सहित नागरिकताको अधिकार स्थापित गर्ने आफ्नो योजना रहेको बताउनुभयो ।

‘मैले प्रधानमंत्री शेरबहादुर देउवालगायत प्रमुख दलका नेताहरूसंग भेटवार्ता गरेको छु र उहाँहरु सबैजना सकारात्मक हुनुहुन्छ,’ आचार्यले भन्नुभयो, ‘म्यान्मार, थाइल्याण्ड लगायतका मुलुकमा बसोबास गरिरहेका नेपाली मूलका दाजुभाइ दिदी बहिनीहरुलाई ’पिपुल अफ नेपाली अरिजिन’ (पिएनओ) को मान्यता दिलाउन अधिकतम प्रयास गर्नेछु,’ उहाँले भन्नुभयो । उहाँले सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि अभियान सञ्चालन गर्ने पनि बताउनुभयो ।

एक एनआरएन एक रोजगार अभियान

संघका सल्लाहकार तथा पूर्व केन्द्रीय उपाध्यक्ष रही सकेका आचार्यले कोभिडका कारण रोजगारी गुमाएर फर्केका युवाहरुका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ शुरु गर्ने घोषणा गर्नुभएको छ । सरकार तथा निजी क्षेत्रसंगको सहकार्यमा ‘एनआरएनए सीप विकास केन्द्र’ स्थापना गर्ने र पछि सातै प्रदेशमा ती केन्द्रहरुको विस्तार गर्ने आफ्नो योजना रहेको उहाँले सुनाउनुभयो ।

गैरआवासीय नेपाली तथा नेपालमा रहेका तिनका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसंग सम्झौता गरिने कार्ययोजना बनाएका आचार्यले विदेशमा हुर्कीरहेका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्ने र अनलाइन कक्षाहरु संचालन गरिने पनि बताउनुभयो ।

गैरआवासीय नेपाली खेल प्रतिभाहरुको विकासमा सघाउन एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने पनि उहाँको योजना छ । आचार्यले हालसम्मको आफ्नो अनुभव र नयाँ कार्ययोजनाका आधारमा संसारभर फैलिएका नेपालीहरुलाई मातृभूमिसँग जोड्दै अगाडि बढ्ने आफ्नो योजना रहेको उहाँले सुनाउनुभयो । त्यस्तै आफ्नो उम्मेदवारीबारे छिट्टै एक कार्यक्रम मार्फत औपचारिक घोषणा गर्ने जनाउनुभयो ।