जनता टाइम्स

२८ भाद्र २०७८, सोमबार ०९:२६

एनआरएन निर्वाचन रोक्न सरकारको निर्देशन, यस्तो छ कारण


काठमाडौं, भदौ २८ । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन र अधिवेशन रोक्न निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले संघको निर्वाचन प्रक्रियामा भएका अनियमितताबारे छानबिन भइरहेको र छानबिन प्रतिवेदन नआउन्जेलसम्मका लागि निर्वाचनका काम रोक्न निर्देशन दिएको हो ।

गैरआवासीय नेपाली संघका महासचिव डा हेमराज शर्माले सरकारको पत्र पठाएको पुष्टि गर्दै संघले यसबारे छलफल गर्ने बताउनु भयो । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ, अन्तर्राष्टिय समन्वय परिषद्लाई सम्बोधन गर्दै भदौ २५ गते जारी गरेको निर्देशन पत्रमा अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचनसम्बन्धी बाँकी काम रोक्नु भनिएको छ । यसअघि निर्वाचन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा उजुरी परेको थियो । उजुरी छानबिन गर्न परराष्ट्रका सहसचिव भरतकुमार रेग्मीको संयोजकत्वमा तीन सदस्यीय अनुगमन समितिसमेत गठन पनि भएको छ ।

सरकारी निर्देशन पत्रमा अष्ट्रेलिया, जर्मनी, अमेरिका, न्यूजिल्याण्ड, बेल्जियम, स्वीडेन, नेदरल्याण्ड, डेनमार्क, पोर्चुगललगायतका मुलुकमा निर्वाचनमा अनियमितता भएकोबारे उजुरी परेको र ती देशका निर्वाचनबारे छानविन गरिने उल्लेख छ । पत्रमा एनआएएनए एनसीसी जापानको निर्वाचनमा भएको अनियमितताबारे सोधिएको पत्रको जवाफबारे प्रतिउत्तर नदिएको आरोप पनि एनआरएनए आइसीसीलाई लगाइएको छ ।

संघको १०औँ महाधिवेशन २३र२५ अक्टुबररमा तय भएको थियो । नयाँ नेतृत्वका लागि संघका उपाध्यक्षद्वय डा वद्री केसी, कुल आचार्य र रविना थापाले उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । संघको निर्वाचन अनलाइन माध्यमबाट हुने तयारी गरिएको थियो ।