जनता टाइम्स

२८ भाद्र २०७८, सोमबार १३:५३

सभामुखलाई १४ सांसदको पद रिक्त भएको सूचना टाँस्न नभए राजीनामा दिन भनेको हो : एमाले


काठमाडौं, भदौ २८ । सभामुखले आज दिउँसोको लागि बोलाएको सर्वदलीय बैठकमा संसदको विपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ । एमालेका सचेतक विशाल भट्टराईले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर एमाले बैठकमा सहभागी नहुने जानकारी दिनुभएको हो । भट्टराईले सभामुखलाई कि एमालेले कारवाही गरेका १४ सांसदको पद रिक्त भएको सूचना टाँस्न नभए राजीनामा दिन भन्नुभएको हो ।

‘उहाँलाई कि हामीले कारवाही गरेका सांसदको पद रिक्त भएको सूचना टाँस्नुहोस् कि राजीनामा दिनुहोस् भनेको हो,’ भट्टराईले भन्नुभयो । भट्टराईले यसो भनेपछि सभामुखले कुनै जवाफ नदिई फोन राखिदिएको उहाँले बताउनुभयो । एमाले विभाजनमा सभामुखले भूमिका निर्वाह गरेको भन्दै एमालेले संसद बैठक अवरोध गर्दै आएको छ । त्यसैको निकास खोज्नको लागि सभामुखले आज दिउँसो साढे २ बजे सर्वदलीय बैठक बोलाउनुभएको छ ।

सभामुखले सबै दलको बैठक बोलाएर के गर्न खोजेको? सर्वदलीय बैठकमा एमालेलाई गाली गरेर त समस्याको समाधान निस्कँदैन,’ भट्टराईले भन्नुभयो, ‘विवाद मिलाउन नै खोजेको हो भने उहाँले हाम्रो पार्टीको अध्यक्षसँग कुरा गरे भइहाल्यो नि ।’सर्वदलीय बैठकअघि भट्टराईले सभामुखसँग सिंहदरबारमा भेट गरौँ भन्दा सापकोटाले नमानेको भट्टराईले बताउनुभयो । ‘सिंहदरबारमा आउनुहोस् भेटौँ भनेको हो उहाँले मान्नुभएन’, भट्टराईले भन्नुभयो ।