जनता टाइम्स

२८ भाद्र २०७८, सोमबार १७:४९

सूचनाबिनै राखियो कर्मचारी : बिज्ञापन गर्ने समय भएन तर वर्दियाबाट बोलाएर भर्ती


कालीकोट भदौ २८ । स्वास्थ्य सेवा कार्यालय कालीकोटले कुनै पनि सूचना नगरी दुई जना कर्मचारी नियुक्त गरेको पाइएको छ । एक जना खरिदार र एक जना कार्यालय सहयोगी तीन दिनको फरकमा नियुक्ति दिएको तथ्य खुलेको छ । २०७८ साल जेठ २ गते प्रिमा कुमारी बिष्टलाई कार्यालय सहयोगीका रुपमा नियुक्त गरिएको तीन दिनपछि अन्जु रोकायालाई जेठ ५ गते कम्प्युटर अप्रेटरका रुपमा काम गर्ने उद्देश्यले खरिदार पदमा नियुक्त गरिएको पाइएको छ ।

कर्मचारी नियुक्त गर्नुपरेमा कम्तीमा पनि सात दिनको सूचना प्रकाशित गर्नु पर्ने नियम छ । तर स्वास्थ्य सेवा कार्यालय कालीकोटका तत्कालीन कार्यालय प्रमुख र केही कर्मचारीको मिलेमोतोमा तीन दिनको फरकमा दुई कर्मचारीलाई सोझै नियुक्त गरेपछि कर्मचारी बिचमा समेत खटपट सुरु भएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटका तत्कालिन निमित्त स्वास्थ्य ब्यवस्थापक सिनियर अहेव कटकबहादुर महत र प्रशासन शाखा, लेखा शाखा प्रमुखहरुको सल्लाहमा ती कर्मचारी नियुक्त भएको वताईन्छ ।

लेखा अधिकृत मुनवहादुर रावलले भने आफूलाई भन्दा पनि यो बिषय कार्यालय प्रमुखलाई वढी जानकारी हुने वताउनुभयो । लेखा प्रमुख रावलले आफू कहाँ कर्मचारीसंग गरिएको सम्झौता मात्र आउने भएकाले कार्यालय प्रमुख संगै नियुक्ती प्रक्रिया वुझ्न आग्रह गर्नुभयो । तत्कालिन कार्यालय प्रमुख कटकवहादुर महतले सो समयमा कोरोना सङ्क्रमण निकै वढेका कारणले आपतकालीन अवस्थामा विना बिज्ञापन दुई जना कर्मचारी राखेको स्वीकार गर्नुभयो ।

उहाँले बिज्ञापन गर्दा समय लाग्ने भएकाले एक जना कार्यालय सहयोगी र एक जना कम्प्युटर अप्रेटर अति आवश्यक भएकाले नियुक्त गरिएको वताउनुभयो । कम्प्युटर अप्रेटर जुम्लाको सिजा क्षेत्रको र कार्यालय सहयोगी शुभकालिका छाति घर भएका महतको भनाई छ । तर कम्प्युटर अप्रेटरलाई वर्दियावाट फोन गरी वोलाएर राखेको कार्यालयका कर्मचारीको भनाई छ । कम्प्युटर केही जान्दैनन, तर अपरेटर भनेर वर्दियावाट वोलाईयो र राखियो, एक कर्मचारीले जनताटाइम्ससँग भने । यत्तिको कम्प्युटर जानेको कालीकोटमा मान्छे नभेटर हो, किन वर्दियावाट वोलाएर राखेको भन्दै कर्मचारीले बिरोध पनि गरेका छन ।

यस बिषयमा तत्कालीन कार्यालय प्रमुख महतले भने अस्वीकार गर्नुभएको छ । तत्कालीन प्रमुख महतले वर्दिया होइन, जुम्ला सिजावाट वोलाएर राखेको वताउनुभयो । बिज्ञापन नगरी सम्पर्कमा रहेकालाई ल्याएर राखेको उहाँको भनाई छ । बिज्ञापन गर्दा समय लाग्ने भएकाले आफूहरुले सिधै नियुक्त गरेको उहाँले वताउनुभयो ।

कर्मचारीहरुले भने लेखा अधिकृत, कार्यालय प्रमुख र प्रशासन शाखा प्रमुखको मिलेमोतोमा भागवण्डामा कर्मचारी राख्ने गरेको आरोप लगाएका छन । कर्मचारीले श्रोत गोप्य राखिदिन अनुरोध गर्दै २०७७ साल साउनदेखि हालसम्मका सबै कर्मचारी नियुक्तिदेखि भुक्तानी प्रक्रिया सबै हेर्न पत्रकारलाई आग्रह समेत गरेका छन । कर्मचारी राख्न बिज्ञापन गर्ने समय नभएको हो भने वर्दियावाट कालीकोट वोलाउने समय कसरी आयो भन्दै प्रश्नसमेत गर्ने गरेका छन । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले भने आफुलाई यो कुरा जानकारी नभएको वताउनुभयो । कुनै पनि कम्पनीलाई कराहर कर्मचारी नियुक्तीको जिम्मा दिनु पर्नेमा कसैको ब्यक्तिगत चाहनामा राख्ने गरेको आफूले सुनेको र अव जानकारी लिने वताउनु भयो ।