लण्डन, भदौ २८ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्माले एनआरएनएको आसन्न चुनाव कुनैपनि हालतमा नरोकिने घोषणा गर्नुभएको छ । टिभि सन्डेसँग कुराकानी गर्दै डा. शर्माले यस्तो घोषणा गर्नुभएको हो । सरकारले चुनाव रोक्न लिखित निर्देशन दिएलगत्तै महासचिव शर्माले यस्तो घोषणा गर्नुभएको हो ।
महासचिव शर्माले आफ्नो अनुकुल नतिजा नआउने देखेपछि राज्य संयन्त्रको दुरुपयोग गरेर मन्त्रालयमाथि चिठी लेख्न दबाब दिइएको दावी पनि गर्नुभयो । चुनाव रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा उजुरी दिएको असन्तुष्ट समूहप्रति लक्षित गर्दै डा. शर्माले शक्ति र सत्ताका भरमा मन्त्रालयलाई प्रभावित पार्न खोज्नु दुर्भाग्यपूर्ण रहेको बताउनु भयो । मन्त्रालयले महाधिवेश प्रतिनिधि चयनमाथि प्रश्न उठाउँदै तत्कालका लागि चुनाव स्थगन गर्न आग्रह गरेपनि ती समस्या टुंग्याएर चुनाव गरिने उहाँको भनाई छ । मन्त्रालयले आसन्न चुनावलाई प्रभावित पार्न खोजेको र आफ्नो दायराभन्दा बाहिर गएको डा शर्माको भनाइ छ ।
‘सदस्य हु भनेर आएकै भरमा उजुरी लिएर परराष्ट्र मन्त्रालयले गलत कदम चालेको छ,’ शर्माले भन्नुभयो । परराष्ट्र मन्त्रालयले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिलाई भदौ २५ मा एक पत्र लेख्दै तत्कालका लागि संघको चुनावी प्रक्रिया रोक्न अनुरोध गरेको थियो । मन्त्रालयको पत्रमा गैरआवासीय संघका तीनजना सदस्यहरूले महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामाथि प्रश्न उठाउँदै निवेदन दिएका उल्लेख छ । विवादिन विषयबारे छानबीन गर्न मन्त्रालयको नीति, योजना, विकास कुटनीति तथा विदेशमा रहेका नेपाली सम्बन्धी महाशाखा प्रमुखको संयोजकत्वमा गठन गरिएको अनुगमन समिति प्रतिवेदन पेश नगरेसम्म संघका चुनावी प्रक्रिया स्थगन गर्न अनुरोध गरेको छ ।
महासचिव डा शर्माले वर्तमान कार्यसमितिले विधि, विधान र प्रक्रिया अनुसार निर्णय गर्ने र कसैलाई चित्त नबुझेको भए विधानमा भएको व्यवस्थाअनुसार निवेदन दिए आवश्यक कारबाही गर्न सकिने शर्माले प्रष्ट पार्नुभयो । प्रतिनिधिहरुको चयन राष्ट्रिय समन्वय समितिले गर्ने र त्यसैलाई समेटेर अन्तर्राष्ट्रिय समितिले सूची प्रकाशन गर्ने डा शर्माले प्रष्ट पार्नुभयो । अमेरिकालगायत देशमा विधान र प्रक्रियासम्मत रुपमा चुनाव गरी प्रतिनिधि पुनः पठाएको खण्डमा समावेश गर्न सकिने उहाँको भनाई छ ।
अमेरिकामा पहिले २९ जनाको कोटा छुट्याएर बाँकी प्रतिनिधिका लागि मात्र चुनाव गरिएकाले विधानसम्मत नदेखिएको उहाँले बताउनु भयो । परराष्ट्र मन्त्रालयमा पुरानो व्यवस्था अनुसार प्रतिनिधि छनोट हुनुपर्ने दाबी गरिएको भन्दै शर्माले एनआरएनएका नेता भन्नेहरुले विधान राम्रोसँग पढ्न र पालना गर्न सुझाव दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्