जनता टाइम्स

२९ भाद्र २०७८, मंगलवार १६:५८

गृहप्रदेशबाट भीम रावलको घोषणा : एमालेको रक्षाका लागि जस्तोसुकै त्याग गर्न तयार छु


धनगढी, भदौ २९ । एमाले उपाध्यक्ष भीमबहादुर राववले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताउनु भएको छ । धनगढीस्थित एमाले पार्टी कार्यालयमा आज कार्यकर्तासँग छलफल गर्दै उपाध्यक्ष रावलले व्यक्तिभन्दा पार्टी महत्वपूर्ण भएको भन्दै एमालेलाई जीवन्त राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको प्रष्ट पार्नुभयो ।

उपाध्यक्ष रावलले पार्टीमा कसैले पाखा लगाउन खाजेको खण्डमा भने त्यसको परिणाम राम्रो नहुने बताउनु भयो । ‘एमाले बचाउनका लागि म मात्र हैन सबै कार्यकर्ता त्याग गर्न तयार हुनुपर्दछ‘, रावलले भन्नुभयो, ‘तर त्यागलाई कमजोरी ठानियो भने त्यसको परिणाम अर्कै हुनेछ, त्यो ठूलो गल्ति हुनेछ ।’ उहाँले सम्पूर्ण कार्यकर्तालाई एकताको पक्षमा उभिनसमेत आग्रह गर्नुभयो । यसअघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउनेतर्फ सबैले लाग्नुपर्नेमा उहाँको भनाई थियो ।

एमालेभित्र रहेका अवसरवादी नेता तथा कार्यकर्ता अवसरको खोजीमा अन्यत्र गएको ठोकुवा पनि गर्नुभयो । उहाँले लामो समयसम्म एमालेमै बस्दा अवसर नपाएका नेता कार्यकर्ता एकताको पक्षमा रहँदा पटक–पटक जिम्मेवारी पाएका नेता प्रलोभलानमा परेका बताउनु भयो ।