जनता टाइम्स

३० भाद्र २०७८, बुधबार ११:१६

स्वास्थ्य सेवा कार्यालय कालीकोटमा अख्तियारको नजर, सवै फाइल नियन्त्रणमा



कालीकोट, भदौ ३० । स्वास्थ्य सेवा कार्यालय कालीकोटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छनविन अघि बढाएको छ । आर्थिक वर्ष २०७७/०७८ मा कार्यालयले कर्मचारी नियुक्ति, कोरोना रोकथाम गर्दा खरिद गरेको औषधी, कार्यालयको आन्तरिक संरचनामर्मत सम्भारमा अनियमिता भएको आशंका गदै सबै फाईल नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।

कार्यालयका निमित्त ब्यवस्थापक कटकवहादुर महतले आर्थिक वर्ष २०७७/०७८ का सबै फाईल अख्तियारले मागेको वताउनु भयो । उहाँले आफ्नो पालामा भन्दा पनि पुरै आर्थिक वर्षका फाईल झिकाएकाले आफूले उपलब्ध गराएको वताउनुभयो । तर कार्यालयले भने महत कार्यालय प्रमुख भए प्रश्चात कार्यालयका सबै काममा अनियमिता देखिएको भन्दै अनुसन्धान थालेको संकेत दिएको छ । कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले अख्तियार कार्यालय सुर्खेतले कागजपत्र माग गरेको पुष्टि गर्नुभयो । कार्यालयले के प्रयोजनका लागि हो थाह भएन मागेकाले आफुले पनि पठाउन भनेको वताउनुभयो ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटले कर्मचारी भर्ना, औषधी खरिद, कोरोनाका बिरामीको नाममा आएको खाना रकम र कर्मचारीको जोखिम भत्तामा समेत अनियमिता गरेको कर्मचारीकै भनाई रहेको छ । करारमा राखिएका कर्मचारीले आफ्नो नाम गोप्य राखिदिन अनुरोध गदै सबै वेथिती सार्वजनिक गरिदिन बिभिन्न मिडियामा कार्यरत पत्रकार समक्ष कुरा राख्दै आएका छन । जनता टाईम्सले यस भन्दा अगाडि औषधीको मुल्यसुचीमा टिपेक्स लगाएको, बिना सुचना कर्मचारी राखेको, बिरामी खाना खान्छन कर्मचारी लगायतका समाचार सार्वजनिक गरिसकेको छ । अख्तियार कार्यालय सुर्खेतले केही फाईल मगाएर अनुसन्धान गरिरहेको जनाएको छ ।