जनता टाइम्स

३० भाद्र २०७८, बुधबार १८:२४

ओलीले राखे माधवलाई कामरेड भन्नै नमिल्ने यस्तो तथ्य


बुटवल, भदौ ३० । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई कामरेड भन्नै नमिल्ने बताउनु भएको छ । बुटवलमा आज आयोजित कार्यकर्ता भेलामा बोल्दै ओलीले नेपाललाई ‘कामरेड’ भन्न नसकिने बताउनु भएको हो । उहाँले प्रतिक्रियावादीको योजनामा एमालेलाई कमजोर पार्न लागेको भन्दै ओलीले माधव कामरेड नरहेको बताउनु भयो ।

एमालेलाई फुटाएर माधव विरोधी पक्षको पछिपछि कुदेको र कम्युनिष्ट बिरुद्ध लागेको ओलीको भनाई छ । ‘मलाई साथीहरूले माधव कामरेड भन्नुस् भन्नुहुन्छ, कसरी कामरेड भन्नु ? एमालेमाथि बन्चरो हान्नेलाई कामरेड भन्छन ? एमाले चोइट्याउनेलाई कामरेड भन्छन् ? माधव नेपाल कामरेड होइन, एमालेविरोधी, अपराधकर्म गर्ने मान्छे हुन । प्रतिक्रियावादीको सेवा गर्ने कठपुतलीवाला सरकार बनाउने अगुवा हुन,’ कार्यकर्ता भेलामा बोल्दै ओलीले भन्नुभयो, ‘शेरबहादुर देउवाको पछिपछि लखरलखर गर्ने मान्छेलाई कामरेड भन्न मिल्दैन । जो पार्टी ध्वस्त गर्न लागेको छ, त्यो कामरेड हुँदैन ।’

अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार छँदा माधवले सँधै असहयोग गरेको तथ्य पनि राख्नुभयो । ‘हाम्रो नेतृत्वको सरकारले राम्रो काम गर्दा माधव नेपालले कहिल्यै सरकारको समर्थन गरेको सुन्नुभयो ? सरकारको प्रशंसामा एक शब्द बोलेको सुन्नुभयो ? यस्तो कुन्ठाग्रस्त मान्छेलाई तपाईंहरू कसरी कामरेड भन्नुहुन्छ ?’, ओलीले भन्नुभयो ।