काठमाडौं, भदौ ३० । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग सम्बन्ध बिग्रिएको संकेत गर्दै फेरि सडकमा जानुपर्ने धम्की दिनुभएको छ । प्रचण्डले फेरि सत्ता छाडेर सडकमा जानुपर्ने अवस्था आउन लागेको भन्दै प्रधानमन्त्री देउवासँग सम्बन्ध बिग्रिएको संकेत गर्नुभएको हो ।
माओवादीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसमा पार्टी कार्यालय पेरिस डाँडामा आज आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले फेरि सडकमा जानुपर्ने हुनसक्छ भन्दै कार्यकर्तालाई तयारी अवस्थामा बस्न भन्नुभयो । उहाँले संसविधान संशोधन गरिनु पर्ने पुरानै अडान पनि राख्नुभएको छ । संविधान बनाउने बेला नै आफूहरुले फरक मत राखेको भन्दै प्रचण्डले भन्नुभयो, ‘हामीले राजनीतिक दलहरुबीच सहमति गरेर अघि बढ्न चाहेका छौं । तर जरुरी पर्यो भने सडकमा जानुपर्ने हुनसक्छ ।’
सम्बोधनको क्रममा दिवंगत नेता बोगटीलाई स्मरण गर्दै प्रचण्डले अहिले माओवादीका माथिल्लो तहका नेताहरु बिग्रिएको स्वीकार गर्नुभयो । क्रान्ति र आन्दोलनमा जाने भनेपछि जुर्मुराएर उठ्ने पंक्ति पनि यही पार्टीभित्र छ । माओवादीले चाहे लाखौंको संख्यामा जनता सडकमा आउन तयार रहेछन्,’ प्रचण्डको भनाई थियो , ‘जनता बिग्रिएका पनि होइनन्, कार्यकर्ता पनि होइन, बिग्रिएका हामी माथिका नेताहरु मात्रै रहेछौं । गुट बनाउँदा फाइदा हुन्छ भन्ने नेतृत्व पंक्ति मात्रै बिग्रिएको रहेछ भन्ने अहिले पुष्टि भएको छ ।’













प्रतिक्रिया दिनुहोस्