जनता टाइम्स

३१ भाद्र २०७८, बिहीबार ०१:०७

सत्तामा आएसँगै तालिबानमा गम्भीर बिवाद : दुई बरिष्ठ नेताबीच राष्ट्रपति भवनमै चर्काचर्की, समर्थकबीच हानाहान


काबुल भदौ ३१ । तालिबान नेताहरूबीच अफगानिस्तानमा नयाँ सरकारको संरचनाको विषयमा एउटा ठूलो विवाद उत्पन्न भएको वरिष्ठ तालिबान नेताहरूले बताएका छन्। राष्ट्रपति भवनमा उक्त लडाकु समूहका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर र एक मन्त्रीबीच चर्काचर्की परेको तालिवानको भनाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार बरादर सार्वजनिक रूपमा देखा नपरेकाले तालिबान नेतृत्वमा मतभेद रहेको अपुष्ट विवरण आएको थियो। तर यसलाई औपचारिक रूपमा भने अस्वीकार गरिएको छ। गत महिना तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गरेको थियो। त्यसपछि उक्त अतिवादी इस्लामिक समूहले देशलाई ूइस्लामिक इमिरातू घोषणा गरेको छ।

नवगठित अन्तरिम मन्त्रिपरिषद्‌मा सबै सदस्य पुरूष छन्। सरकारमा वरिष्ठ तालिबान नेताहरू छन्। तीमध्ये केही विगत दुई दशकमा अमेरिकी सेनामाथि गरिएका आक्रमणका लागि कुख्यात मानिन्छन्।एकजना तालिबान स्रोतले बीबीसी पाश्तोलाई बताए अनुसार बरादर र हक्कानी लडाकु समूहका प्रभावशाली नेता एवं शरणार्थी मामिला हेर्ने मन्त्री खलिल उर(रहमान हक्कानीबीच चर्काचर्की भएको थियो।

इस्लामाबादस्थित बीबीसी संवाददाता खुदाई नूर नसरका अनुसार उनीहरूका समर्थकबीच पनि त्यहाँ झगडा भएको बताइन्छ। कतारमा रहेका एकजना वरिष्ठ तालिबान सदस्य र विवादमा संलग्न पक्षसँग सम्बन्ध भएका अर्का एक स्रोतले त्यस्तो चर्काचर्की गत साताको अन्त्यतिर भएको पुष्टि गरेका छन्।

विवादको कारण के हो ?

स्रोतहरूका अनुसार त्यस्तो विवाद नयाँ उपप्रधानमन्त्री बरादर अन्तरिम सरकारको संरचनासँग असन्तुष्ट भएसँगै सिर्जना भएको बताइएको छ। फगानिस्तानमा तालिबानको जितको श्रेय कसलाई दिने भन्ने विषयमा विवाद सुरु भएको बताइएको छ।

बरादरले आफूजस्ता व्यक्तिले कूटनीतिमा लगाएको जोडबल त्यसको कारण भएको ठानेको बताइएको छ। यद्यपि केही वरिष्ठ तालिबान नेताहरूले नेतृत्व गरेको हक्कानी समूहका सदस्यहरू र तिनका समर्थकहरू त्यस्तो सफलता युद्धबाट भएको बताउँछन्। बरादर अमेरिकी राष्ट्रपतिसँग सीधा सम्पर्क गर्ने पहिलो तालिबान नेता हुन्। उनले सन् २०२० मा डोनल्ड ट्रम्पसँग टेलिफोन संवाद गरेका थिए। त्यसअघि उनले अमेरिकी फौज फिर्ता गर्ने विषयमा दोहा सम्झौतामा तालिबानका तर्फबाट हस्ताक्षर गरेका थिए। हक्कानी सञ्जाल अफगानिस्तान र पश्चिमा देशका सेनामाथि भएका केही घातक आक्रमणहरूमा संलग्न हुने गरेको थियो। अमेरिकाले उक्त संस्थालाई आतङ्ककारी सङ्गठन मानेको छ।

उक्त समूहका नेता सिराजुद्दिन हक्कानी अहिले आन्तरिक मामिला मन्त्री छन्। बरादर सार्वजनिक रूपमा बाहिर देखा पर्न छोडेपछि गत सातादेखि तालिबान नेतृत्वमा विवाद उत्पन्न भएको चर्चा चलेको थियो। सामाजिक सञ्जालमा उनको मृत्यु भएको हो कि भन्ने संशय पनि व्यक्त भएको थियो।

तालिबान स्रोतले बीबीसीलाई बताएअनुसार विवादपछि बरादर काबुलबाट निस्किएर कान्दहार सहर गएका थिए। सोमवार सार्वजनिक गरिएको बरादरको एउटा श्रव्य वक्तव्यमा उनले आफू यात्रामा बाहिर गएको भनेको सुनिन्छ। उक्त सामग्री तालिबानका विभिन्न वेबसाइटहरूमा राखिएको छ। ‘अहिले म जहाँ छु हामी सबै जना ठिक छौँ,’ उनले भनेको सुनिन्छ। यद्यपि बीबीसीले उक्त सामग्रीको आधिकारिकता पुष्टि गर्न भने नसकेको जनाएको छ ।

के भन्छ तालिबान ?

तालिबानले कुनै विवाद नभएको दाबी गरेको छ। उसका अनुसार बरादर सुरक्षित छन्। तर उनी अहिले कहाँ छन् विषयमा तालिबानले विरोधाभासपूर्ण कुरा भनेको छ। तालिबानका एक प्रवक्ताका अनुसार बरादर तालिबानका सर्वोच्च नेतालाई भेट्न कान्दहार गएका थिए। तर पछि उनले बीबीसी पाश्तोलाई बरादर ‘थकित भएको र उनले विश्राम गर्न चाहेको’ बताए।

सन् २०१५ मा तालिबानले आफ्ना संस्थापक नेता मुल्लाह ओमारको मृत्यु दुई वर्ष लुकाएको स्वीकार गर्‍यो। तर त्यो अवधिमा तालिबानले उनको नाममा विज्ञप्ति जारी गरिरह्यो। स्रोतहरूका अनुसार बरादर काबुल फर्किने र क्यामराअगाडि बोल्दै कुनै विवाद नभएको बताउने अपेक्षा गरिएको थियो। तालिबानका सर्वोच्न नेता हिबतुल्लाह अखुन्दजादाबारे पनि संशय बाँकी छ। उनी अहिलेसम्म सार्वजनिक रूपमा देखा परेका छैनन्। उनी तालिबानको राजनीतिक, सैन्य र धार्मिक विषयका प्रमुख हुन्।