काठमाडौं, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई बुख्याँचासँग तुलना गर्नुभएको छ । नेकपा एमाले रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यो सरकारले बुख्याँचा जत्तिको पनि काम गर्न नसकेको टिप्पणी गर्नुभयो ।
‘बुख्याँचाले बरु बाली खान आउनेलाई तर्साउँछ तर यो सरकारले त त्यसो पनि गर्न सकेको छैन,’ ओलीले भन्नुभयो । ओलीले यो सरकारले विकासका काम देख्नै नसक्ने आरोप लगाउनुभयो। आफू नेतृत्वको तत्कालीन सरकारले गरेको कामबाट वर्तमान सरकार आत्तिएको उहाँको भनाइ छ । ‘यो सरकारले विकासका काम देख्नै सक्दैन, हामीले गरेका नियुक्ति खारेज गरेर अयोग्य व्यक्ति नियुक्त गरेको छ,’ ओलीले भन्नुभयो, ‘हामीले शिलान्यास गरेका सडक, स्वास्थ्यजस्ता पूर्वाधार निर्माणलाई खारेज गरेको छ ।
’आफ्नो सरकार विकासका लागि सयौं सडक, अस्पतालजस्ता पूर्वाधार निर्माणमा अगाडि बढेको देखेर प्रतिक्रियावादीहरुले सरकार ढालेको ओलीले आरोप लगाउनुभयो । ‘हामीले शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण र सामाजिक उत्थानमा खेलेको भूमिका देखेर हामीलाई रोक्ने प्रयास गरियो,’ ओलीले भन्नुभयो , ‘हाम्रो सरकार तीव्र विकासको गतिमा अगाडि बढेको थियो ।
तर अहिले हेर्नुस् त दुई महिना भयो मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।’ गठबन्धनको सरकारले गति लिन नसकेको बताउँदै उहाँले देउवा सरकारले जनताको अपेक्षा पूरा गर्न नसकेको दाबी गर्नुभयो । अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जनविरोधी अपराधी भएको गम्भीर आरोप लगाउनुभएको छ ।
‘माधव नेपाललाई कामरेड भन्न मिल्दैन, उनले पार्टीलाई ध्वस्त पार्ने काम गरे,’ ओलीले भन्नुभयो , ‘साथीहरु भन्नुहुन्छ, माधव नेपाल कामरेड । उनी कामरेड होइन, उनी एमाले विरोधी, जनविरोधी अपराधी हुन् ।’ माधव नेपाल सधैं पार्टी नेतृत्वको सरकारको विरोध गरेर आफ्नै सरकार ढाल्ने पात्र भएको आरोप लगाउनुभयो । ‘गरिबको आँशुले पोल्छ तिमीलाई भन्ने गीतमा जस्तै माधव नेपाललाई पोल्नेछ,’ उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्