जनता टाइम्स

३१ भाद्र २०७८, बिहीबार ११:२९

अमेरिकी दूतावासले यो बर्षभरी विनाअन्तरवार्ता निश्चित प्रकारका विद्यार्थी भिसा जारी गर्ने, यस्तो छ नियम


वासिंटनडिसी, भदौ ३१ । अमेरिकाकी दूतावास र कन्सुलेटहरुले अन्तरवार्ताबिनै यो बर्षको अन्तिमसम्म निश्चित प्रकारका विद्यार्थी भिसा जारी गर्ने भएका छन । अमेरिकी विदेशमन्त्रीले दिएको अधिकार अनुसार विदेश मन्त्रालयको व्यवस्थापन तथा साधनश्रोत विभागका सहायक सेक्रेटरीले कन्सुलर अफिसरहरुलाई निश्चित प्रकारका विद्यार्थी भिसा विना अन्तरवार्ता जारी गर्न स्वीकृति प्रदान गरेका हुन ।

अमेरिकी बिदेश मन्त्रालयका अनुसार निश्चित प्रकारका एफ, एम र जे भिसा अब कन्सुलर अफिसरहरुले सन २०२१ को डिसेम्बर ३१ सम्म विना अन्तरवार्ता नै जारी गर्न सक्नेछन अर्थात अन्तरवार्ताका लागि छुट प्रदान गर्न सक्ने भएका छन । यो श्रेणीमा विद्यार्थीहरु, प्रोफेसरहरु, रिसर्च स्कलरहरु, छोटो समयका लागि जाने स्कलरहरु र विशेषज्ञहरु समेत पर्दछन । अमेरिकाबाट प्रकाशित हुँदै आएको अनलाइन खसोखासले प्रकाशित गरेको समाचारअनुसार निश्चित अपवादका बाबजुत उनीहरुलाई अन्तरवार्ताका लागि उपस्थित नभइकनै भिसा जारी गरिनेछ ।

कस्ले पाउनेछन विनाअन्तरवार्ता भिसा ?

विगतका कुनै पनि प्रकारको भिसा जारी भएका एफ, एम र जे भिसाका आवेदकहरुले विना अन्तरवार्ता नै भिसा पाउन सक्नेछन् । अर्थात् विगतमा सोही श्रेणीको भिसा जारी भएको नभएपनि उनीहरुलाई भिसा अन्तरवार्तामा छुट दिन सकिनेछ । उदाहरणका लागि विगतमा भिजिटर भिसा पाएको व्यक्तिले अहिले विद्यार्थी भिसा एफका लागि आवेदन दिएको खण्डमा उसले विना अन्तरवार्ता भिसा पाउन सक्नेछ ।

तर विगतमा भिसाका लागि आवेदन दिएर अस्वीकृत भएको भने हुनुहुँदैन । त्यस्तो अस्वीकृतिमा विजय प्राप्त गरेको भएमा वा सुविधा प्राप्त गरेको भएमा भने त्यस्ता व्यक्तिले विना अन्तरवार्ता एफ, जे र एम श्रेणीको भिसा पाउन सक्नेछन । यस्को अर्थ, भिसाको लागि आवेदन दिएको तर सुरुमा अस्वीकृत भएपनि पछि स्वीकृत भएको भएमा वा छुट प्राप्त गरेको भएमा त्यस्ता व्यक्तिले अहिले अन्तरवार्तामा छुट पाउनेछन ।

भिसा वेभर कार्यक्रम अन्तरगत पर्ने देशका विद्यार्थी भिसा आवेदकले भने पहिलो पटक आवेदन दिएको भएतापनि विना अन्तरवार्ता भिसा प्राप्त गर्न सक्नेछन् । ३ दर्जन भन्दा बढी देशहरुलाई अमेरिकाले भिसा वेभर कार्यक्रम अन्तरगत राखेको छ । जसमा नेपाल भने छैन । अर्थात नेपालीहरुले पहिलोपटक विद्यार्थी भिसाका लागि आवेदन दिएको भएमा अन्तरवार्ता दिनुपर्नेछ तर विगतमा कुनै पनि प्रकारको भिसा पाएको भएमा भने अन्तरवार्ता छुट पाउन सक्नेछन ।