जनता टाइम्स

३१ भाद्र २०७८, बिहीबार १५:०८

काठमाडौंले एमाले झन बलियो छ भनेर सन्देश दिएको छ, माधव नेपालको बाटो सही छैन : अष्टलक्ष्मी शाक्य


काठमाडौं, भदौ ३१ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपालले लिएको बाट सही नभएको ठोकुवा गर्नुभएको छ । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै शाक्यले यस्तो बताउनु भएको हो ।

‘माधव नेपालले लिएको बाटो सही छैन, यतिबेला फुटको होइन जुटको राजनीति आवश्यक छ, सुद‍ृढ एमालेको आवश्यकता छ,’ बागमति प्रदेशको मुख्यमन्त्रीसमेत रहनुभएकी उपाध्यक्ष शाक्यले भन्नुभयो । आफूले त्याग गरेको र जीवन दिएको पार्टी एमालेलाई चटक्क छाडेर जनमत सृजना गर्छु भन्ने गलत मानसिकता रहेको शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘म अनुरोध गर्छु, मनमनमा समीक्षा गर्नुस्,फर्केर आउनुस् र एमालेलाई सुद‍ृढ बनाउन तपाईंको भूमिका पनि आवश्यक छ, त्यो पंक्तिलाई अलमलाएर राख्ने कुरा ठिक छैन भन्ने मेरो प्रष्ट धारणा छ ।’

टुटफुट र जुटसँग भिड्दै आएको एमालेका लागि आजको आवश्यकता भनेको सुदृढ नेकपा एमाले रहेको उहाँले यसलाई बलियो र विचारयुक्त बनाउनुपर्ने बताउनुभयो । सबैले आफ्ना कमीकमजोरीप्रति निर्मम समीक्षा गर्नुपर्ने पनि शाक्यले बताउनुभयो । कम्युनिष्ट आन्दोलनको मूल धार नेकपा एमाले रहेको भन्दै शाक्यले एमालेको गौरवलाई बचाउन सबै लाग्नुपर्ने बताउनुभयो । शाक्यले देशको राजधानी र सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौंले एमालेमात्र नभएर एमालेबाहिरकालाई पनि एमाले झन् बलियो छ भनेर सन्देश दिइएको धारणा पनि राख्नुभयो ।