जनता टाइम्स

२ आश्विन २०७८, शनिबार ०७:५६

अभिनेत्री करिश्मा मानन्धरले पूर्वप्रधानमन्त्री ओलीलाई धन्यबाद केपी बुवा लेखेपछि..



काठमाडौं, असोज २ । पढ्नका लागि उमेरले छेक्दैन । जसले जुनसुकै उमेरमा पनि पढे हुन्छ । तर उमेरले धेरै उकालो लागेपछि स्कुल कलेजमा पढ्नेहरुको संख्या झण्डै नगण्य हुन्छ । तर नेपाली रजतपटकी सफल नायिका करिश्मा मानन्धर भने यो प्रशंगकी अपवाद उदाहरण हुनुहुन्छ । केही बर्ष अघि उहाँले एसईईको परीक्षा दिंदा निकै चर्चा भएको थियो ।

परीक्षा उत्तिर्ण गर्दा पनि चर्चा चुलियो । अभिनेत्री करिश्माको पढ्ने क्रम अझै पनि रोकिएको छैन । निरन्तर अघि बढिरहेको छ । अहिले करिश्मा कक्षा १२ को परीक्षामा व्यस्त हुनुहुन्छ । परीक्षाको चटारोका बीच करिश्मालाई अचानक पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फोन आयो । परीक्षाको चटारोले प्राय फोन नउठाउने करिश्मालाई शुक्रबार बेलुकी नयाँ नम्बरबाट फोन आएको हो । ट्रु कलरले ‘केपी शर्मा ओली इज कलिङ’ भनेर देखायो । एमाले अध्यक्ष ओलीले करिश्मालाई फोन गरेर परीक्षाबारे सोधपुछ गर्नुभएको थियो । करिश्माले ओलीसँगको संवादबारे सामाजिक सञ्जलामार्फत जानकारी गराउनुभएको छ ।

तर ओलीसंगको यो फोन सम्वाद उहाँकालागि अझै पनि अविश्वसनीय रहेको करिश्माले बताउनुभएको छ । सुरुमा मजाक हो कि भन्ने लाग्यो, तर उहाँ हाम्रो देशको पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो’ करिश्माले सामाजिक संजालमा लेख्नुभएको छ, ‘उहाँको आवाज सुन्दा घरको मुलीले छोराछोरीलाई गरेजस्तो सुनिन्थ्यो । ‘सुरुमा विश्वास लागेन, अनि उहाँले सुनाएको डुङ्गाको कथा सुनेर लाग्यो यो हाम्रो केपीजी हो ।’ अभिनेत्री करिश्मा मानन्धरले ओलीलाई बुवाको सम्बोधन गर्दै लेखेकि लेख्नुभएको छ, ‘आधुनिताको यो दौडमा सद्भाव र मायाको दूरी मेटाउन यत्रो ठूलो भएर पनि सामान्य कलाकारलाई कल गरिदिनुभएकोमा धन्यबाद केपी बुवा ।’