जनता टाइम्स

२ आश्विन २०७८, शनिबार १६:५७

कर्मचारीलाई ओलीको निर्देशन : जसको सरकार आए पनि सघाउनोस, नियम कानुनको परिधिभित्र रहेर काम गर्नाेस


काठमाडौं, असोन २ । एमाले अध्यक्ष केपी ओलीले निजामती कर्मचारीले कुनै पनि सरकारलाई असहयोग गर्न नहुने बताउनु भएको छ । नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई आज काठमाडौंमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले जुन पार्टीको सरकार आए पनि सहयोग गर्न अपिल गर्नुभयो ।

उहाँले आफू प्रधानमन्त्री हुँदा प्रमुख प्रतिपक्षी दलका नेताले सरकारलाई असहयोग गर्न आह्वान गरेको भन्दै त्यसो गर्न नहुने बताउनु भयो । ‘म प्रधानमन्त्री छँदै, नेपालका दोस्रो पार्टीले कर्मचारीहरू भेला गरे। तर त्यहाँ एकपछि अर्को नेताको निर्देशन के रह्यो भने सरकारलाई असहयोग गर भन्दै निर्देशन दिइयो। म छक्क परें, एउटा देशको नेताले सरकारलाई असहयोग गर भनेर कसरी कर्मचारीलाई निर्देशन दिन्छ रु मलाई अचम्म लाग्यो। मलाई आश्चर्य लाग्यो। तपाईंहरू त्यसो नगर्नुहोस्, जसको सरकार आए पनि नियम कानुनको परिधिभित्र रहेर काम गर्नु,’ ओलीले भन्नुभयो ।

उहाँले आफू पनि भ्रष्टाचार नगर्न र अरुलाई पनि भ्रष्टाचार गर्न नदिनसमेत आग्रह गर्नुभयो । आफूले दोस्रोपटक प्रधानमन्त्रीको शपथ लिएकै दिन आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने निर्णयले भ्रष्टाचारीको मतमा ढ्यांग्रो ठोकेको उहाँको भनाई थियो । एमाले अध्यक्ष ओलीले अहिलेको सत्ताधारी गठबन्धनलाई ‘फ्रिजबाट निकालिएको आइसको डल्ला’को संज्ञा दिँदै चुनावपछि आइसका डल्ला बिलाएर जाने बताउनु भयो ।

‘यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन्, आफैं बनेका होइनन, डल्ला बाहिर राख्नेबित्तिकै बिलाएर जान्छन,’ ओलीले भन्नुभयो । उहाँले अवको १४ महिनापछि हुने चुनावबाट आफ्नो नेतृत्वमा सरकार बन्ने भन्दै त्यसबेला ती सबै बिलाएर जाने बताउनु भयो । ‘तपाईंहरुलाई केही दुःख दिन सक्छन् । धेरै चिन्ता गर्नु पर्दैन, १४ महिनापछि चुनाव हुन्छ, त्यसको अर्को एक महिनापछि हाम्रो सरकार बन्छ । यिनीहरु बिलाएर जान्छन,’ अध्यक्ष ओलीले भन्नुभयो ।