जनता टाइम्स

३ आश्विन २०७८, आईतवार १७:२०

लमजुङका किसानलाई अलैंची टिप्न भ्याइनभ्याई


लमजुङ असोज ३ । लमजुङका किसान अलैंची टिप्न व्यस्त छन् । अलैंची पाकेपछि किसानहरू टिप्न, छोडाउन र सुकाउन व्यस्त बनेका हुन । अहिले अलैंची टिप्ने सिजन भएकोले सहर झरेकाहरु पनि गाउँ फर्किएका छन् ।

विशेषगरी कोरोनाका कारण पनि सहर बस्नेहरू गाउँ फर्किएर कृषि कर्ममा व्यस्त भएको मर्स्याङ्दी गाउँपालिका ६ बाहुनडाँडाका अलैंची कृषक लोकनाथ घिमिरेले बताउनुभयो । जिल्लाका अलैंची किसानहरूले भदौ पहिलो हप्तादेखि अलैंची टिप्न सुरु गरेका हुन् । अलैंची पाक्न नपाउँदै चरा मुसाले खाने भएकाले टिपाइमा ढिला गर्न नहुने मर्स्याङ्दीका अलैंची किसान डम्बरसिंह अधिकारीको भनाई छ । जिल्लामा लगाइएको डम्बरशाही, जिर्मले र साउने जातको अलैंची टिप्न सुरु गरिएको नेपाल अलैंची व्यावसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले बताउनुभयो ।

तामाङका अनुसार अलैंची तीन चरणमा टिप्ने गरिन्छ । सात सयदेखि १२ सय मिटरको उचाइमा लगाइएको अलैची भदौको पहिलो साता टिपिन्छ । यस उचाइमा साउने, जिर्मले र डम्बरशाही रोपिन्छ । १२ सय देखि १६ सय मिटर उचाइमा गोलशाही जातको अलैंची रोपिन्छ जुन असोजको पहिलो साताबाट टिपिन्छ । त्यस्तै १६ सय देखि २२ सय मिटर उचाइमा रामशाही र भलाङ्गे जातको अलैंची कार्तिकको पहिलो हप्ताबाट टिप्न सुरु गरिन्छ ।

लमजुङका अलैंची कृषकले गत वर्ष अलैंची दाना विक्रीबाट १८ करोड २० लाख आम्दानी गरेका थिए । जिल्लामा उत्पादित तीन हजार ५ सय क्वीन्टल अलैंची दाना विक्रीबाट कृषकहरूले उक्त रकम आम्दानी गरेका हुन् । एक हजार पाँच सय हेक्टर क्षेक्रफल जमिनमा अलैँची खेती विस्तार गरिए पनि एक हजार दुई सय हेक्टर क्षेक्रफलमा अलैंची उत्पादन हुदैँ आएको छ ।

जिल्लाको भुलभुले, लुदी, छिनखोलासहित बाँझाखेत, घाम्राङ, घनपोखरा, खुदी, गौंडा, इलमपोखरी, दुधपोखरी, बन्सार, ढोडेनी, फलेनी, लगायतका पाखाहरूमा व्यवसायिक अलैची खेती हुँदै आएको छ । अलैंची ब्यवसायबाट राम्रो आम्दानी गर्न सकिने भएकाले सहरमा पसेकासमेत आफ्नै गाउँ फर्किएर अलैंची खेती सुरु गर्न थालेका छन् ।