जनता टाइम्स

४ आश्विन २०७८, सोमबार ११:३९

माधवसहित १४ सांसदलाई पदमुक्त गर्ने मुद्दाको सुनुवाइ हुँदै, यस्तो छ संभावना


काठमाडौं, असोज ४ । नेकपा एमालेले साधारण सदस्य र सांसदबाट निष्कासन गरेका माधवकुमार नेपालसहित १४ जनाबिरुद्धको रिटको सुनवाई आज हुनेभएको छ । एमालेले कार्वाही गरेको सांसदलाई लाई पदमुक्त नगरी सभामुखले गैरकानूनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गर्नुभएको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

सो रिट आज न्यायाधीशहरू दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुँदैछ । एमालेले साउन २५ को केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार माधव नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो । तर, सचिवालयले सो सूचना टाँस नगरेपछि माधव नेपालले एमालेबाट विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिनुभयो । आयोगले नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिइसकेपछि मात्र संसद सचिवालयले नयाँ दल दर्ता भइसकेकाले कारवाही गर्नु नपर्ने सूचना टाँस्यो ।

अदालतले ओलीको मागअनुसार अन्तरिम आदेश दियो भने नेकपा एसका सांसदहरू माधव नेपाल, मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणी चौधरी, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी र कलिला खातुन सांसदबाट पदमुक्त हुनुहुनेछ । कानूनबमोजिम पार्टीले प्रक्रिया पूरा गरेर निष्कासन गरेका सांसदहरुलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस्नुपर्ने भन्दै एमालेले उनीहरुलाई सांसदको रुपमा संसदमा प्रवेश दिएको विरोधमा सदन अवरोध गरिरहेको छ ।