काठमाडौं, असोज ४ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच प्रतिस्थापन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षीको विरोधबीच अगाडि बढाउनु भएको बैठकले प्रतिस्थापन बिद्येयक पारित गरेको हो । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।
विधेयकको मन्त्रालयत शीर्षकमाथिको छलफल सकाएर अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएपछि सभामुखले खर्च कटौती सम्बन्धी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको प्रस्ताव निर्णयार्थ पेश गर्नुभयो । सांसद सुवालको खर्च कटौतीको प्रस्ताव अस्वीकार भएपछि विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री शर्माले पेश गर्नुभयो । एमालेको नाराबाजीका बीच विधेयक बहुमतले पारित भएको हो ।
प्रतिनिधिसभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा जानेछ । राष्ट्रियसभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ । त्यसलाई स्वीकार गरेर प्रतिनिधिसभाले सभामुखमार्फत राष्ट्रपतिकहाँ पठाउँछ र कार्यान्वयनमा आउँछ । त्यसपछि हालको बजेट होलिडेको अन्त्य हुनेछ ।
विनियोजन विधेयकमाथिको छलफलको सबै प्रक्रियामा नेमकिपाका सांसद प्रेम सुवाल एक्लैले सहभागिता जनाउनुभयो। प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरु नारावाजीमा केन्द्रित भए । सत्तारुढ गठबन्धनका कुनै पनि सांसदले छलफलमा भाग लिएनन् ।













प्रतिक्रिया दिनुहोस्