जनता टाइम्स

५ आश्विन २०७८, मंगलवार ११:५१

मुद्दाको पहिलो पेशी, कुलमानलाई हटाउन माग गरिएको रिटमा आज सुनुवाई


काठमाडौं, असोज ५ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्द दायर भएको रिटमा आज दोस्रो सुनुवाई हुदै छ । आज प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको एकल इजलाशमा यस मुद्दाको सुनुवाई हुन लागेको हो । यो मुद्दाको पेशी उहाँको इजलाशको पहिलो नम्बरमा नै तोकिएको छ । सोहि कारण यस मुद्दामा आज आदेश आउने प्रबल सम्भावना छ । यसअघि पनि जबराकै इजलाशमा यस मुद्दाको पहिलो सुनुवाई भएको थियो ।

पहिलो सुनुवाईमा सर्वोच्चले घिसिङलाई प्राधिकरणमा नियुक्त गर्दाको सक्कल कागजात ३ दिन भित्र पेश गर्न आदेश दिएको थियो । प्रधानन्यायधीश चोलेन्द्र समशेर जबराको एकल इजलाशले कुलमान कार्यकारी निर्देशकमा नियुक्त भएको, हितेन्द्र देव शाक्य कार्यकारी निर्देशकमा नियुक्त भएको, हितेन्द्र शाक्य प्राधिकरणबाट जल तथा उर्जा आयोगमा नियुक्त भएको, र प्राधिकरणले शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्दा भएका सम्झौताको सक्कल फाइल ३ दिन भित्र पेश गर्न आदेश दिएको हो।

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफुलाई अन्यायपूर्ण तरिकाले हटाएको भन्दै शाक्यले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । उहाँले रिटमा प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङलाई ४ वर्षको लागि गरिएको नियुक्ति बदर गर्न र सो पदमा आफु ४ वर्षको लागि नियुक्त भएकोले आफुलाई निरन्तरता दिनको लागि अन्तरिम आदेश माग गर्नुभएको थियो । आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा संविधानसम्मत अधिकार हनन भएको उहाँले उल्लेख गर्नुभएको थियो ।

उहाँले आफुलाई सो पदमा पुनर्बहाली गर्न पनि आदेशको माग गर्नुभएको छ । तर अदालतले भने पहिलो सुनुवाईमा उनको माग बमोजिम कुनै पनि आदेश जारी नगरी सबै सक्कल फाइलहरु झिकाउन आदेश दिएको थियो । सोहि मुद्दामा आज दोस्रो सुनुवाई हुन लागेको हो । शाक्यलाई उहाँकै आग्रहमा सम्मानजनक रुपमा जल तथा ऊर्जा आयोगको सचिवालयमा विशिष्ट श्रेणीमा नियुक्ति गरि खाइपाइ आएको सेवा सुविधामा कटौती नहुने गरी उनले गर्नुपर्ने कार्यदेशसमेत उल्लेख गरी विशेष जिम्मेवारी दिएर सरुवा गरिएको भनिएपनि उहाँ सर्वोच्च जानुभएको हो । घिसिङले यसअघि चार वर्ष प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।