जनता टाइम्स

५ आश्विन २०७८, मंगलवार १८:५६

माधव र उपेन्द्रलाई पार्टी बिभाजनको त्रास


काठमाडौं, ५ असोज ।  नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई फुट जोगाउन मुश्किल पर्न थालेको छ । फुटको खतराका कारण दुवै दल सरकारमा जानबाट रोक्किएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले दल विभाजन सजिलो बनाउने गरी ल्याइएको अध्यादेश निष्कृय नभएसम्म सरकारमा जान नसक्ने स्पष्ट पार्नुभएको छ ।

नेकपा एसका अध्यक्ष माधव नेपाल पनि अध्यादेश निष्कृय नबनाई सरकारमा जाने पक्षमा हुनुहुन्न । तर, अध्यादेश निष्कृय पार्नेतर्फ सत्तारुढ दलमै सक्रियता देखिदैन । सरकारमा जान ठिक्क परेका कतिपय सांसदहरु रोकिने सम्भावना देखेर फुटको रणनीतिमा लागेका छन् । नेकपा एस र जसपाभित्र त्यस्तो रणनीतिका साथ सांसदहरु भित्र भित्र अभ्यास गरिरहेका छन् ।विश्वस्त स्रोतका अनुसार मन्त्री बनाउन नपाउने सूचना पाएपछि कतिपय सांसदहरु चिढिएका छन् ।

उनीहरु २० प्रतिशत सांसद संख्या बनाएर पार्टी फुटाउने प्रयासमा लागेका हुन् ।राजनीतिक दलसम्बन्धी अध्यादेशबाट दल विभाजनका लागि २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए पुग्छ । नेकपा एसका २३ प्रतिनिधि सभाका सांसद छन् । उक्त दल फुट्न ५ जना सांसद भए पुग्छ । जसपासँग १९ सांसद छन् । उक्त दल विभाजनका लागि ४ सांसद भए पुग्छ ।