जनता टाइम्स

६ आश्विन २०७८, बुधबार ०९:३६

संयुक्त राष्ट्रसङ्घको महासभामा आफूहरूलाई बोल्न दिन तालिबानद्वारा आग्रह


न्युयोर्क, असोज ६ । अफगानिस्तानकोसत्ता कब्जा गरेको तालिबानले न्यूयोर्कमा जारी राष्ट्रसङ्घीय महासभामा विश्व नेताहरूलाई सम्बोधन गर्न पाउनका लागि आग्रह गरेको छ। उक्त समूहका विदेशमन्त्री आमिर खान मुताकीले सोमवार त्यस्तो अनुरोधसहितको पत्र संयुक्त राष्ट्रसङ्घमा पठाउनु भएको हो । सो पत्रबारे राष्ट्रसंघको एक समितिले त्यसबारे टुङ्गो लगाउनेछ।

तालिबानले दोहामा रहेका आफ्ना प्रवक्ता सुहेल शाहीनलाई राष्ट्रसङ्घका लागि आफ्ना राजदूत नियुक्त समेत गरेको छ। गतमहिना अफगानिस्तानलाई नियन्त्रणमा लिएको उक्त समूहले पछिल्लो सरकारका पालामा राष्ट्रसङ्घ पठाइएका राजदूतले यतिखेर आफ्नो सरकारको प्रतिनिधित्व नगर्ने जनाएको छ।

राष्ट्रसङ्घीय बहसमा सहभागी हुन गरिएको तालिवानको अनुरोधलाई उक्त निकायको क्रेडिन्सियल कमिटीले विचार गरिरहेको बताइएको छ। जसमा अमेरिका, चीन र रुस सहितका नौ देशहरू छन्। तर उनीहरू आउँदो सोमवार महासभा अन्त्य हुनुअघि जुट्ने सम्भावना देखिंदैन। र राष्ट्रसङ्घको नियम अनुसार त्यसबेलासम्म उक्त विश्व निकायका लागि अफगान राजदूतमा गुलाम इसाकजाई नै कायम रहनेछन्। महासभाको अन्तिम दिन अर्थात २७ सेप्टेम्बरमा इसाकजाईले मन्तव्य दिने ठानिएको छ।

यसअघि सन् १९९६ र २००१ बीचमा तालिबानले अफगानिस्तान नियन्त्रणमा लिंदा उनीहरूले हटाएको सरकारकै प्रतिनिधि राष्ट्रसङ्घमा राजदूतका रूपमा रहेका थिए। जतिखेर क्रेडिन्सिअल्स कमिटीले सो पदका लागि गरिएको नयाँ दाबीलाई नहेर्ने निर्णय गरेको थियो।

यता तालिबानले देश छाडेर भागेका पूर्वराष्ट्रपति असरफ गनीलाई कयौँ देशहरूले नेता मान्न छाडेको बताएको बीबीसीले जनाएको छ। मङ्गलवार राष्ट्रसङ्घीय बैठक सुरु भएपछि कतारले विश्व नेताहरूलाई एउटा आह्वान गर्दै तालिबानलाई संलग्न गराउन भनेको छ।