जनता टाइम्स

६ आश्विन २०७८, बुधबार १५:३१

बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल नै मुख्य जिम्मेवार : बिजय गच्छदार


काठमाडौं, असोज ६ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा प्रकरणमा आफू दोषी नरहेको र प्रधानमन्त्री माधव नेपालको निर्देशन मात्र मानेको बताउनु भएको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी गच्छदारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनअनुसार विभिन्न तहबाट आएको प्रस्तावलाई मन्त्रिपरिषद्‍मा लैजानेसम्मको काममात्र आफूले गरेको बताउनु भयो । गच्छदारले मन्त्रिपरिषद्ले गरेको सामूहिक निर्णयमा राजनीतिक पूर्वाग्रहले आफूलाई मात्र फसाउन खोजिएको आरोप लगाउनु भयो ।

राजनीतिक पूर्वाग्रहकै कारण केही व्यक्तिलाई उन्मुक्ति दिइएको उहाँको भनाई छ । ‘प्रम निवास विस्तार गर्ने योजना म भौतिकमन्त्री हुनुपहिले नै सुरू भएको हो । तत्कालीन प्रम माधवकुमार नेपालको निर्देशन तहगत रूपमा मकहाँ आएपछि कार्यान्वयन गरेको हुँ, गच्छदारले भन्नुभयो, मन्त्रिपरिषद्को सामूहिक निर्णयको विषयमा सम्बन्धित मन्त्रीले मन्त्रिपरिषद्‍मा फाइल लगेकै भरमा मुद्दा चलाइनु गलत छ । मलाई मुद्दा लगायर कसैकसैलाई चोख्याउने काम भएको छ ।’सरकारको गुरुयोजना कार्यान्वयन गर्ने क्रममा आफूले विभागीय मन्त्रीको भूमिकामात्र निर्वाह गरेको उहाँले बताउनु भयो ।