जनता टाइम्स

७ आश्विन २०७८, बिहीबार ०७:३८

एक हप्तामा मनसुन बाहिरिने : आज देशभर मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने


काठमाडौं, असोज ७ । मनसुन बाहिरिने सङ्केत देखिन थालेको मौसमविद्ले बताएका छन् । अबको एक हप्तामा मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।उहाँका अनुसार पश्चिमबाट पूर्वतिर हावा सर्न थालेकाले असोज १४ सम्ममा मनसुन बाहिरिने अनुमान छ ।

देशभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिएको मानिने छ । लगातारको झरीपछि बिस्तारै पानी पर्ने क्रम कम हुँदै गएको छ ।यो वर्षको मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । यसपालि मनसुनको अवधि परिमार्जन गरिएको छ । यसपालिदेखि जुन १३ तारिखमा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा बाहिरिने मिति तोकिएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने समय तोकिएको थियो ।

मौसमविद्का अनुसार हरेक १०र१० वर्षमा मनसुन भित्रने र बाहिरिने समय परिमार्जन गरिन्छ । यसैबीच आज देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भइ सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।आज देशभर नै मौसम पूर्णरुपमा खुल्ने सम्भावना छैन । एकछिन खुले पनि फेरि बादल लाग्ने सम्भावना छ । बेलुका ४ बजे पछाडि भने काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ ।