जनता टाइम्स

७ आश्विन २०७८, बिहिबार १०:२४

१२ करोड राजस्व छलीमा मुद्दा चलाइएका ब्यापारीलाई देउवा सरकारले दियो तक्मा


काठमाडौं, असोज ७ । सरकारले राजश्व छली गरेको प्रमाणपछि मुद्दा चलाइएका ब्यापारीलाई समेत राज्यको तर्फबाट सम्मान स्वरुप तक्मा दिएको पाइएको छ । गृहमन्त्री बालकृष्ण खाँणको बिशेष जोडबलमा राजश्व छल्ने उद्योगका सञ्चालकलाई जनसेवाश्री पदक दिइएको तथ्य बाहिर आएको हो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले संबिधान दिवसको अवसर पारेर बुटवलको श्रीराम टोबाको कम्पनीका संचालक कमलकिशोर मालपानी, चुन्नुप्रसाद शर्मा पौडेल र नरिश्वर पौडेललाई बिभुषित गर्ने निर्णय गरेको हो । उल्लेखित तीनै जना राजश्व छलीमा मुद्दा चलेका उद्योगका सञ्चालक हुन । ११ करोड राजस्व छलीमा राजश्व अनुसन्धान बिभागले मुद्दा चलाएका ब्यापारीलाई देउवा सरकारले राष्ट्रको लागि उल्लेख्य काम गरेको भन्दै तक्मा दिएको हो ।

श्रीराम टोबाको कम्पनीले गुट्खा र सुर्ती उत्पादन गरी राजस्व छली गरेको प्रमाण भेटिएपछि राजस्व अनुसन्धान विभागले २०७६ पुसमा काठमाडौं र रुपन्देहीमा मुद्दा दायर गरेको थियो । विभागले बुटवल नगरपालिका–१२ मा रहेको श्रीराम टोबाकोलाई १० करोड ७३ लाख बिगो कायम गरी रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । सो कम्पनीका संचालक कमलकिशोर मालपानी, चुन्नप्रसाद शर्मा पौडेल लगायतले कम्पनीबाट उत्पादन हुने अन्तःशुल्क लाग्ने सुर्तीजन्य पदार्थको उत्पादन कम देखाई विभिन्न बिक्रेताहरुको सहयोगमा स्टीकर र कर बिजक बिना मालवस्तु बिक्री गरेको पाइएको विभागको अनुन्धानले देखाएको छ ।

भोला र करेन्ट ब्रान्डका अलावा कमल किशोर मालपानी र पौडेल बन्धुले नेपाली बजारमा अरु विभिन्न नामका गुट्खा र सुर्ती बिक्री गरी राजस्व मार्ने काम गर्दैआएका छन् । भारतीय राज्य बिहार र उत्तर प्रदेशमा प्लाष्टिकको प्याकेटमा सूर्ती र गुट्खा बिक्री गर्न प्रतिबन्ध लागेपछि मालपानीहरुले नेपालबाट भारततर्फ सुर्ती र गुट्खा तस्करी समेत गर्दै आएका छन् । भारतीय बजारमा गुट्खाको माग बढी छ ।

श्रीराम टोवाको कम्पनीबाट उत्पादित भोला र करेन्ट गुट्खाको अवैध कारोबार गर्दै करोडौैं राजस्व ठगी गर्दै आएका मालपानी र पौडेलले आफ्नो कर्तुत ढाकछोप गर्नका लागि रुपन्देहीकै गृहमन्त्री खाण भएको बेला सचिवालयका ब्यक्तिलाई आर्थिक प्रभावमा पारेर पदक लिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।