काठमाडौं, असोज ८ । नयाँ अर्थमन्त्री र अर्थसचिव आए लगत्तै अर्थमन्त्रालयमा एउटा चर्चा सुरु भएको छ, ‘नातावाद जीन्दवाद’ । अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधुकुमार मरासिनीले पालैपालो आफ्ना नातेदारहरुलाई आकर्षक जिम्मेवारी दिन सुरु गरेपछि यो चर्चा सुरु भएको हो ।
उहाँले अर्थमन्त्री शर्माले एसियाली विकास बैंक (एडीबी) कार्यकारी निर्देशकको सल्लाहकार पदमा आफ्नै भान्जीज्वाई भीमकान्त न्यौपानेलाई पठाउनुभएको थियो । न्यौपाने अर्थ मन्त्रालयका अधिकृत हुनुहुन्छ । अहिलेसम्म ब्यांकको कार्यकारी निर्देशकको सल्लाहकार पदमा उपसचिव र सहसचिव मात्रै गएका छन् ।
अर्थमन्त्रीकै बाटो पछ्याउदैं अर्थसचिव मधुकुमार मरासिनीले आफ्नै भाइ शम्भु मरासिनीलाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख बनाउनुभएको छ । सचिव मरासिनीले आन्तरिक राजस्व विभागको उपमहानिर्देशक रहेका शम्भु मरासिनीलाई मध्यमस्तरीय कार्यालयको प्रमुखमा सरुवा गर्नुभएको हो । मध्यमस्तरीय करदाता कार्यालयका प्रमुख अर्जुनप्रसाद भट्टराईलाई सरुवा गरी सचिवले आफ्नै भाइ शम्भु मरासिनीलाई लैजानुभएको हो । मध्यमस्तरीय कार्यालयको कार्यक्षेत्र अर्थमन्त्रालयले तोकेका करदाताहरुको वार्षिक कारोबारका आधारमा नेपाल राज्यभर रहेको छ ।
मध्यमस्तरीय करदाता कार्यालय पनि अर्थमन्त्रालयको सहसचिव प्रमुख हुने आकर्षक कार्यालय मानिन्छ । अर्थमन्त्री शर्माले एनसेलको ७२ अर्ब पूँजीगत लाभकरछलीका मुख्य योजनाकार शोभाकान्त पौडेललाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएर पुरस्कृत गर्नुभएको छ । शर्माको जोडबलमा मन्त्रालय बाहिरका विज्ञलाई लेख्न लगाइएर सार्वजनिक गरिएको श्वेतपत्रबारे पनि उहाँ आलोचित हुनुहन्छ। शर्माले अर्थतन्त्रको अवस्था देखाउन भन्दै श्वेतपत्र जारी गरे पनि त्यसको औचित्य पुष्टि गर्न सक्नुभएको छैन । सबैभन्दा महत्त्वपूर्ण चाहिं सर्वसाधारणलाई शेयर जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर शुरूमा हत्याएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदमाथि अनुसन्धान प्रक्रिया अघि बढाउने विषयमा अर्थमन्त्रीले रहस्यमय मौनता साँधिरहनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्