जनता टाइम्स

९ आश्विन २०७८, शनिबार ०९:१२

कमलपोखरीलाई रानीपोखरीभन्दा पनि आकर्षक बनाउँछौ – विद्या सुन्दर शाक्य


काठमाडौँ, असोज ९ । कमलपोखरी पुनर्निर्माणको पहिलो चरणको काम करिब ९५ प्रतिशत सम्पन्न भएको छ । पुनर्निर्माणपछि पोखरीमा पानी भरिएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले शुक्रवार कमलपोखरीको अवलोकन गर्दै करीब ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो । पोखरी पुननिर्माणका क्रममा केही समय विवाद र अवरोध भए पनि अहिले सुन्दर पोखरी निर्माण भएको देख्दा आफूलाई खुसी लागेको मेयर शाक्यको भनाइ छ । कमलपोखरीको निर्माण सम्पन्न गरी छिट्टै उद्घाटन गर्ने र सबैका लागि खुला गर्ने समेत उहाँले बताउनुभयो । कमलपोखरीलाई रानीपोखरीभन्दा पनि आकर्षक बनाउने योजनासहित अघि बढेको शाक्यको भनाइ छ ।

‘एकातिर पानी अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रुपमा चिनाउने योजनासहित यो पोखरीको पुनर्निर्माण अघि बढाएका छौँ,’ उहाँले भन्नुभयो । कमलपोखरीमा पानी पुनर्भरण र पानी शुद्धीकरण गर्ने योजनासमेत रहेको छ । वर्षौंदेखि बेवारिसे अवस्थामा रहेको कमलपोखरीलाई गुरुयोजना बनाएर पुनर्निर्माण गर्दै पुनर्जीवन दिइएको मेयर शाक्यले बताउनुभयो । उहाँले पोखरी अवलोकन गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सबै पोखरीहरूको प्रवर्द्धन र संरक्षण गर्ने महानगरपालिकाको अभियान रहेको भन्दै त्यही अभियानअन्तर्गत कमलपोखरीको पुनर्निर्माणको काम संघीय, प्रदेश माननीय, स्थानीय जनप्रतिनिधि, विज्ञ र स्थानीय व्यक्तिहरुसँग पनि लामो छलफल र परामर्श गरी काम अघि बढाएको बताउनुभयो । पोखरी पुननिर्माणको पहिलो चरणको काम सम्पन्न गर्ने वित्तिकै अब दोस्रो चरणमा कमलपोखरीको दक्षिणतर्फ रहेको अर्थात पहिला कमलपोखरी प्रहरी बीट रहेको करीब पाँच रोपनी क्षेत्रलाई विस्तार गर्दै आकर्षक पार्क निर्माण गर्ने समेत शाक्यले जानकारी दिनुभयो ।

उहाँले महानगरपालिकाले कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको र त्यही अनुरूप काम अघि बढेकोसमेत बताउनुभयो । करिब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरी बास्तुशास्त्रमा आधारित भएर निर्माण भइरहेको छ ।