जनता टाइम्स

९ आश्विन २०७८, शनिबार १६:४७

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न सरकारलाई पूर्वअर्थमन्त्री पौडेलको चेतावनी


रूपन्देही, असोज ९ । एमाले उपमहासचिव एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम नरोक्न प्रधानमन्त्री सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ । केपी ओली नेतृत्वको अघिल्लो सरकारले अगाडि बढाएको दोस्रो चरणको निर्माणको काम वर्तमान सरकारले नगरेको भन्दै पौडेलले आक्रोश समेत जनाउनु भयो ।

उद्योग व्यापार संगठन रूपन्देहीको साधारणसभा तथा भवन उद्घाटन कार्यक्रममा आजज भैरहवामा बोल्दै पौडेलले अघिल्लो नेतृत्वको सरकारको पालामा भएका निर्णयलाई कार्यान्वयन गर्दै एसियाली विकास बैंक (एडीबी) सँग चाडो सम्झौता गरेर बजेटको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गर्नुभयो ।

‘हामीले दोस्रो फेजका काम अगाडि बढाएका थियौं । जसअन्तर्गत आउँदो ५० वर्षलाई धान्ने अत्याधुनिक टर्मिनल बिल्डिङ (टिटु) बनाउने, टयाक्सी वे र फराकिलो पार्किङलगायतका आधुनिक पूर्वाधार तयारी गर्ने कार्य अगाडि बढाउन एडीबीले ७ अर्ब लगानी गर्ने र नेपाल सरकारले ७ अर्ब गरी १४ अर्ब लगानीमा दोस्रो चरणको काम अगाडि बढाउने मोडालिटी तयार भएको थियो’, पौडेलले भन्नुभयो, ‘एडीबी ऋण सम्झौता गर्न तयार अवस्थामा छ, तर वर्तमान सरकार कानमा तेल हालेर बसेको छ, काम अगाडि बढाएन । यो भन्दा दुःखको कुरा अरु के हुन सक्छ ? ’

उहाँले देउवा सरकारले आयोजना होल्ड गरिरहेको भन्दै आपत्ति पनि जनाउनु भयो । ‘गत असार महिनामा मैले ‘दोस्रो चरण’को पूर्वाधार बनाउन ‘काउन्टर पार्टस् फन्ड’ सरकारले व्यहोर्ने जानकारीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई पत्र पठाएको थिएँ । त्यसको आधारमा एडीबीसँग सम्झौता भएर अहिलेसम्म अन्तर्राष्ट्रिय बहुवर्षीय ठेक्का आह्वान भइसक्नुपर्ने थियो । तर सरकार परिवर्तन भएपछि एडीबीसँग सम्झौता गरिएको छैन । योजनाको काम सरकारले होल्ड गरेर बसेको छ,’ पौडेलले भन्नुभयो । उहाँले विमानस्थलको काम रोकिएमा लुम्बिनी प्रदेश र रूपन्देहीका जनताको विरोधको सामना गर्न तयार रहन सरकारलाई चुनौती दिनुभयो ।