जनता टाइम्स

९ आश्विन २०७८, शनिबार २०:२३

पञ्चशील सहकारीमा नयाँ नेतृत्व, बाड्यो १८ प्रतिशत बोनस


ललितपुर, असोज ९ । ललितपुरको कुमारीपाटीमा अवस्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यलाई १८ प्रतिशत मुनाफा दिएको छ । आज आयोजित २१ औं वार्षिक साधारणसभामा अध्यक्ष राजु खतिवडाले सो जानकारी दिनुभएको हो ।

जुम तथा आधिकारिक फेसबुक पेजमार्फत आयोजना भएको साधारणसभामा संस्थाका कार्यकारी अध्यक्ष खतिवडाले संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७८/०७९ को लागि निति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गर्नुभएको थियो । पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिको आर्थिक वर्ष ०७७/०७८ मा शेयर पूँजीतर्फ १४ करोड ७६ लाख १८ हजार ७ सय कायम हुन गएको खतिवडाले बताउनु भयो । संस्थाले बचत (निक्षेप) तर्फ १ अर्ब ७४ करोड ५० लाख संकलन गरेको छ भने वार्षिक कारोबार २ अर्ब ६७ करोड ६२ लाख पुर्‍याएको छ ।

संस्थाको जगेडा कोष तथा अन्य कोष गरी जम्मा २३ करोड ४३ लाख ४१ हजार रहेको जानकारी खतिवडाले दिए । संस्थाले गत आव ०७७/०७८ मा रु ६ करोड ५४ लाख ७० हजार १ सय ३८ रुपैँया २५ पैसा खुद नाफा आर्जन गरेको छ । त्यस्तै एक करोड ८९ लाख ८१ हजार ५ सय ३५ रुपैँया ५१ पैसा आयकर तथा अन्य विभिन्न शीर्षकहरुमा राजस्वमा योगदान गरेको जानकारी दियो ।

साधारणसभाले अशोक बज्राचार्यको अध्यक्षतामा नयाँ सञ्चालक समिति समेत गठन गरेको छ । समितिको उपाध्यक्षमा देवेन्द्र प्रसाद श्रेष्ठ, सचिवमा घनश्याम धमला र कोषाध्यक्षमा राम प्रसाद गिरी चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा जीवनदेवी शाक्य, राजेन्द्र शाक्य र भोलानाथ ढुङ्गाना चयन हुनुभएको छ । यस्तै लेखा समितिमा संयोजक शेषराज दाहाल तथा सदस्यमा रामप्रसाद निरौला र सदस्य रुपेश भट्टराई चयन हुनुभएको छ ।